पर्वत/गाउँमै विशेषज्ञ डाक्टरहरु मार्फत स्वास्थ्यउपचार पाएपछि पर्वतको फलेवासका नागरिकले राहातको महसुस गरेका छन् । फलेवास नगरपालिकाको सहजीकरणमा कादुरी एग्रिकल्चरल एड एसोसियसनको आयोजनामा भएको ४ दिने शिविरका कारण नागरिकले राहात पाएका हुन् । गाउँले कामको चटारो, उपचारका लागि पैसाको अभाव, विभिन्न अस्पतालमा धाउँदा हुने खर्च लगायतको झण्झटले रोग पालेर बसेका दुरदराजका नागरिकहरु शिविरमा आएर उपचार सेवा लिएका छन् ।

फलेवास ३ का प्रेम अधिकारीले शिविरका कारण आफ्नो पुरानो स्वास्थ्य समस्याको समाधान भएकोमा खुशी व्यक्त गरे । उनले गाउँघरमै शिविर गरेर नगरपालिकाले आफ्नो समय र पैसा दुबैको बचत गरेको प्रतिक्रिया दिएका छन् । शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसुती रोग, आँखाको उपचार सहित अप्रेशन सेवा, हाडजोर्नी तथा नशा रोगको उपचार सम्बन्धि विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य उपचार गरेका थिए । फलेवास नगरपालिका ४ की पवित्रा गौँडेलले घरदैलोमै डाक्टरहरुले उपचार सेवा दिएको भन्दै आफूहरुको समस्या प्रति नगरपालिकाले ठूलो गुन लगाएको बताईन् । उनले वर्षौदेखि काम र दामको कारण उपचार गर्न टाढा जान नसकिएको अवस्था निशुल्क रुपमा उपचार गर्न पाएकोमा दंग परेको सुनाईन् ।
नगरप्रमुख गंगाधर तिवारीले स्थानीय सरकारले पूर्वाधार निर्माणमा मात्र ध्यान दिने तर नागरिकको स्वास्थ्यको बारेमा ध्यान नदिने अवस्था हुनुहुँदैन भनेर नेपाल सरकारका रक्षा सचिव किरणराज शर्मा मार्फत कादुरी नामक संस्थाको सहयोगमा शिविर आयोजना गरिएको बताए । उनले नगरपालिका नागरिकको स्वास्थ्य प्रति गम्भिर रहेको भन्दै यस्ता शिविर आगामी दिनमा पनि आयोजना गरि सेवा गर्ने योजनामा रहेको बताए । ‘गाउँमा बस्ने हाम्रा दाजुभाई दिदिबैनीहरुहरु अहिले पनि रोग लुकाएर बस्नुभएको छ,’ तिवारीले भने,’ हाम्रो नगरपालिकाका ११ वटै वडामा हामी यस्ता शिविर सञ्चालन गर्न सके धेरै मानिसहरु रोग लागेर रुनुपर्ने अवस्थाको अन्त्य हुनसक्छ ।’
फलेवास नगरपालिकाले विगतमा पनि यस्ता वृहत स्वास्थ्य शिविर आयोजना गर्दै आएको थियो । विगतमा शिविरमा मानिसहरुको खासै भिड नभएपनि कादुरी एग्रिकल्चरल एड एसोसियसनको शिविरमा भने अभुतपूर्व भिड देखिएको फलेवास ६ का वडाध्यक्ष नविनकुमार श्रेष्ठले बताए । उनले बिशेषज्ञ डाक्टर मार्फत शिविर स्थलमै अपरेशन सेवा पनि दिईएको हुनाले धेरै विरामीहरुले सेवा लिन ईच्छुक भएको श्रेष्ठले बताए । ४ दिनको अवधिमा ५ हजार भन्दा बढिको उपचार गर्ने लक्ष्यमा रहेको उनले सुनाए ।






