पैयूँ गाउँपालिकाले शुरू गर्यो सबै वडामा अपाङ्गता परिचय पत्र वितरण

पर्वत/पैयुँ गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण शुरु भएको छ । सोमबारदेखि गाउँपालिकाले परिचय पत्र वितरण कार्य शुरु गरेको हो । अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर गाउँपालिकाले परिचय पत्र वितरण गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ र उपाध्यक्ष याम कुमारी रानाले वडा नम्वर १ टकलाकबाट परिचय पत्र वितरण कार्यको थालनी गर्नुभएको हो । उहाँहरुले टकलाक निवासी पवित्रा राना, रुक्मांगत न्यौपाने र आशिष बस्याललाई अपाङ्गता परिचय पत्र वितरण गर्नुभएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ई. राजिव रिमालले जानकारी दिनुभयो ।

विभिन्न प्रकारका अपाङ्गता भएका नेपाली नागरिकहरुको पहिचान गरी उनीहरुलाई सेवा सुविधामा पहुँच स्थापित गर्न, त्यस्ता सेवासुविधाहरुको लागि योजना निर्माण गर्न र स्थानीय तह देखि नै विभिन्न प्रकृतिका अपाङ्गता भएका ब्यक्तिहरुको बर्गीकृत लागत राख्नसहज तुल्याउने, उनीहरुको अधिकारसम्बन्धी ऐन र अपाङ्गता भएका ब्यक्तिको अधिकारलाई प्राथमिकताको आधारमा सेवासुविधाहरु उपलब्ध गराउन सहज बनाउने मुख्य उद्धेश्यले अपाङ्गता परिचय पत्र वितरणको थालनी गरिएको प्रमुख प्रशासकिय अधिकृत रिमालले बताउनु भयो ।

परिचय पत्र वितरण गदै पैयूँ गाउँपालिकाका अध्यक्ष मल्लले गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई पनि प्राथमिकतामा राखी समान ढङ्गले हेर्दै आएको बताउनुभयो । उहाँले गाउँपालिकाभित्रका सरकारी सङ्घ–संस्था, पार्क लगायत भौतिक संरचना अपाङ्गमैत्री बनाउने उद्देश्यले काम भइरहेको जानकारी गराउनुभयो । अध्यक्ष मल्लले अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य जाँच, आर्थिक सहुलियत, आवश्यक सहायक सामग्रीका लागि बजेट व्यवस्थापन तथा घुम्ती शिविर सञ्चालनलगायतका कार्य गर्दै आएको बताउनुभयो ।परिचय पत्र वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष एवम् समन्वय समिति संयोजक याम कुमारी रानाले अपाङ्गता भएकै कारणकष्टकर जीवन शैली तथा पीडामा रहेका ब्यक्तिहरुलाई राज्यले तोके अनुसारको सेवा सुविधा प्रदान गर्दै जाने बताउनुभयो ।

गाउँपालिकाले १७ गते देखी २६ गते सम्म ७ वटै वडामा अपाङ्गता परिचय पत्रका लागि निवेदन लिने र परिचयपत्र वितरण कार्य गर्ने संयोजक रानाले बताउनुभयो । पैयूँ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिन प्रसाद न्यौपानेले विगतका दिनमा अपाङ्गता परिचय लिन पालिका जान परे पनि आज वडाबाटै प्राप्त हुने भएकाले पनि सहजता भएको बताउनुभयो । अपाङ्गता भएका ब्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७६ बमोजिम गठित स्थानीय समन्वय समितिले पूर्ण अपाङ्गता रातोपरिचय पत्र , अति अशक्त अपाङ्गता निलो परिचय पत्र , मध्यम अपाङ्गता पहेलो परिचय पत्र र सामान्य अपाङ्गतालाई सेतो परिचयपत्र वितरण गरिने छ ।