पर्वत अस्पतालमा ७ बर्षपछि विशेषज्ञ कार्यालय प्रमुख : अस्पतालप्रति जनविश्वास बढ्यो

7

पर्वत/दरबन्दी बमोजीमका विशेषज्ञ डाक्टर कार्यालय प्रमुख नपाएको पर्वत अस्पतालले ७ बर्षपछि विशेषज्ञ डाक्टरलाई कार्यालय प्रमुखको रुपमा पाएको छ । नवौं तहको कार्यालय प्रमुख रहने दरबन्दीमा यस अघि लगातार ७ बर्षसम्म निमिक्त कार्यालय प्रमुखको भरमा अस्पताल सञ्चालन हुँदै आएको थियो । धौलागिरी अस्पताल बागलुङबाट डा. हेमन्त बास्तोला कार्यालय प्रमुखको रुपमा सरुवा भएपछि पर्वत अस्पतालले ७ बर्षपछि विशेषज्ञ डाक्टरलाई कार्यालय प्रमुखको रुपमा पाएको हो ।

२०७४ सालमा डा. बुद्धि थापाको सरुवा भएपछि अस्पताल कार्यालय प्रमुख विहिन बन्दै आएको थियो । संघीयताको कार्यान्वयनसंगै स्वास्थ्य कार्यालय र अस्पताललाई अलग गरेपछि अस्पताल निमित्त कार्यालय प्रमुखको भरमा सञ्चालन हुँदै आएको थियो ।

अस्पतालले भने विशेषज्ञ डाक्टरहरु करार सेवाबाट पूर्ति गरेर सेवा प्रवाह गर्दै आएको थियो । यस अघि डा. बास्तोला पनि पर्वत अस्पतालमा नै कार्यरत थिए । बास्तोला नबौं तहमा पदस्थापना भएपछि पर्वत अस्पतालबाट सरुवा भएर धौलागिरी अस्पतालमा गएका थिए । ७ बर्ष देखि निमिक्तको भरमा सञ्चालन हुँदै आएको अस्पतालले नवौं तहको विशेषज्ञ डाक्टर झण्डै ७ बर्ष पछि पाएको हो ।

डा. बास्तोला अस्पतालमा आएसंगै अस्पतालमा सञ्चालन हुने अप्रेसन सेवा देखि अन्य विशेषज्ञ सेवाहरु पुनः सुचारु हुने अस्पतालका अध्यक्ष शंकर गिरीले जानकारी दिए । यस अघि अस्पतालमा निमित्त कार्यालय प्रमुखको रुपमा कार्यरत डा. रुक्मिणि अधिकारीको स्याङजा अस्पतालमा सरुवा भएको छ ।