सामाजिक सञ्जालमा गालीगलौज गर्ने आर के अदिप्त गिरीविरूद्ध अदालतको पक्राउ पूर्जी

194

पर्वत/सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या हुनेगरि विभिन्न सामग्रीहरु पोष्ट गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिका-७, जैदीका एक युवालाई पर्वत जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । गिरीले विगत एक बर्षदेखि सामाजिक सञ्जाल (फेसबुक)मार्फत पर्वतका पत्रकारहरूको विरूद्धमा निरन्तर गालीगलौज गर्दै आएका थिए । जैमिनी नगरपालिका ७ जैदी स्थायी ठेगाना भई हाल पर्वतको कुश्मा बजारमा शताब्दी घर सञ्चालन गरी बस्ने ३८ बर्षिय आरके अदिप्त गिरी भनिने रमेश थापालाई विद्युतीय कारोबार ऐन बमोजिम दायर भएको मुद्दामा पर्वत जिल्ला अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको हो ।

पर्वतमा क्रियाशिल पत्रकारहरुका विरुद्धमा अपमानजनक र आधारहीन विषयहरू लेखेर सामाजिक सञ्जाल फेसबुकमार्फत समाजमा निरन्तर घृणा फैलाउने काम गरेको र पत्रकारको व्यक्तिगत चरित्र हत्या गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी परेको थियो । आरोपितले पेशागत मर्यादा र सामाजिक प्रतिष्ठामा आँच आउने गरी नाम नै किटान गरेर असभ्य शब्द सहितका सामग्रीहरु राखेको भन्दै पत्रकारहरुले विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कार्बाहीको माग गर्दै आरोपित विरुद्ध उजुरी दर्ता गराएका थिए ।

उजुरीका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चात् सोमबार पर्वत जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो । आरोपितलाई विभिन्न माध्यमबाट खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । तर आरोपित गिरी हाल फरार रहेको वताइएको छ ।