६ महिनामा २७ वटा मानवअधिकार उल्लङ्घनका घटना भएको इन्सेक पर्वतद्वारा जानकारी

3

पर्वत/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले पछिल्लो छ महिनामा पर्वतमा भएका मानव अधिकार उल्लङ्घनका घट्नाहरुको विवरण सार्वजनिक गरेको छ । जिल्लामा मानवअधिकारको अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बोल्दै इन्सेक पर्वतका प्रतिनिधि सन्तोष थापाले गत पुस १५ गतेदेखि यही असार १५ गतेसम्मको छ महिनाको अवधिमा विभिन्न पाँच प्रकृतिका २७ ओटा घट्नाहरु घटेको जानकारी दिए । उनका अनुसार बालिका तथा यौन दुर्व्यवहारमा छ ओटा, महिला बलात्कारमा एउटा, घरेलु हिंसामा १८ ओटा, जातीय विभेदमा एउटा र जनप्रतिनिधि कुटपिटमा एउटा गरी कुल २७ ओटा मानवअधिकार उल्लङ्घनका घटनाहरू भएका छन् ।

यीमध्येको करिब ८० प्रतिशत घटनाहरू दलित समुदायमा भएका तथा स्थानीय तहका रूपमा विभाजन गरेर हेर्दा सबैभन्दा बढी घटनाहरू जलजला गाउँपालिकामा भएको पाइएको छ । यसलाई न्यूनीकरण गर्नका लागि विभिन्न प्रयासहरू हुँदै आएको भए पनि अघिल्लो छ महिनाको तुलनामा पछिल्लो छ महिनामा झनै घटना वृद्धि हुनु दुःखद रहेको प्रतिनिधि थापाको भनाई छ । बालिका बलात्कारका मुद्दामा बाहिरी जिल्लाबाट आएका तथा राज्यको पक्षमा काम गर्ने व्यक्तिहरू नै संलग्न रहेको पाइनु पनि दुःखद रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका पर्वतको संयोजक विष्णुराम बि.क.ले अधिकांश घटनाहरू दलित समुदायमा भएकोप्रति दुःख व्यक्त गर्दै यसको नियन्त्रण तथा न्यूनीकरणमा सबैको साझा बल आवश्यक रहेको औँल्याए । जुन समुदाय शिक्षा र स्वास्थ्य सेवाबाट कम पहुँचमा छ त्यही समुदायमा नै घटना बढी देखिएको भन्दै उनले यसको न्यूनीकरणको लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक रहेको बताए । जिल्लाका सबै वडाहरूको आफूले हेर्दा घरेलु हिंसाका घटनाहरू धेरै भएको पाएको उनको भनाई छ । पछिल्लो समय महिला अधिकारका नाममा कानुनको दुरुपयोग गर्न खोज्दा पुरुषहरू पनि घरेलु हिंसाबाट प्रताडित बन्ने गरेका उदाहरण देखिएकोले यसमा पनि सचेत रहनुपर्ने संयोजक बि.क.ले सुझाव दिए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य छविलाल तिवारीले घरेलु हिंसा तथा मानव अधिकार उल्लङ्घनका घटना नियन्त्रणको लागि सरोकारवाला सबैको पक्षहरूको एउटै उद्देश्य रहनुपर्ने बताए । यसको नियन्त्रण गर्नु सबैको साझा दायित्व रहेको पनि उनको भनाई छ । नागरिक समाज सञ्जाल पर्वतका संयोजक माधव पौडेलले सरकारी कार्यालयले कार्यान्वयन गरेका कार्यक्रमहरू उद्देश्य अनुसार सञ्चालन नहुँदा पनि आशातीत प्रगति हुने नसकेको तर्क गरे । लक्षित कार्यक्रम अनुसार उपलब्धि निकाल्ने गरी काम गर्नुपर्ने भए पनि कामका लागि मात्रै काम हुँदा समस्या भएको उनको भनाई छ । दलित समुदायमा हुने घटना बढी देखिएकाले त्यो समुदायमा चेतनामूलक कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्ने पौडेलले बताए ।

महिला मानव अधिकार रक्षक सञ्जाल पर्वतकी अध्यक्ष सरिता भण्डारीले विभिन्न समस्याका कारण पीडितहरू खुल्न नसक्दा मानव अधिकार उल्लङ्घनका घटनाहरू बाहिर आउन नसकेको बताइन् । इन्सेकको वर्ष पुस्तकमा ज्येष्ठ नागरिकले परिवारभित्रै तथा सामाजिक रूपमा भोग्नुपरेका समस्याहरूलाई मानव अधिकार उल्लङ्घनका घटनाका रूपमा समावेश गर्नुपर्ने उनको सुझाव छ ।

केन्द्रले हरेक छ महिनामा जिल्लामा हुने गरेका मानवअधिकार उल्लङ्घनका घटनाहरू सार्वजनिक गरेर तिनीहरूका विषयमा छलफल गर्दै आइरहेको छ । सरोकारवालाहरूबाट प्राप्त सुझावका आधारमा वर्ष पुस्तकमा ती घटनाहरूको अभिलेखीकरण हुँदै आएको छ । आइतबारको कार्यक्रमबाट प्राप्त सुझाव तथा मानवअधिकार उल्लङ्घनका घटनाहरूलाई ‘नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२४’ मा समावेश गरिने र यो पुस्तक हरेक वर्ष फागुन सात गते सार्वजनिक गर्ने गरिएको इन्सेक प्रतिनिधि थापाले जानकारी दिए ।