पैंयुँको आगामी बजेटमा कृषि, शिक्षा, स्वास्थ्य र स्वरोजगारलाई प्राथमिकता

70

पर्वत/पैंयुँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/ ८१ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार सम्पन्न गाउँपालिकाको १२ औ गाउँसभाले आगामी आर्थिक वर्षका लागि रु. ४१ करोड ७२ लाख ८२ हजार ७ सय बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँसभामा उपाध्यक्ष यामकुमारी रानाले बजेट र अध्यक्ष तोरण मल्ल ठकुरीले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । उक्त बजेट मध्ये नेपाल सरकारको वित्तिय समानीकरण अनुदानवाट रु. ७ करोड ९७ लाख, ससर्त अनुदान तर्फ रु. २० करोड ७९ लाख, विशेष अनुदान तर्फ रु. २ करोड, समपुरक अनुदान तर्फ रु.८० लाख र राजवश्व वाँडफाँड तर्फ रु.६ करोड २० लाख ४२ हजार रहेको छ । त्यसैगरी प्रदेश सरकारको समानीकरण अनुदान मार्फत रु. ९७ लाख ३६ हजार, ससर्त अनुदानतर्फ रु. ५० लाख र समपुरक अनुदान तर्फ रु।६० लाख तथा प्रदेश राजश्व वाँडफाँडवाट रु.३२ लाख ४ हजार आउने भएको छ । गाउँपालिकाले आन्तरिक आम्दानी रु.५७ लाख हुने अनुमान गरेको छ भने चालु वर्षको बजेटवाट झण्डै रु.१ करोड मौज्दात रहने उल्लेख गरिएको छ ।

संघीय र प्रदेशवाट हस्तान्तरण भई आउने व्यय बाहेक गाउँपालिका तर्फवाट व्ययोग्य बजेटको मात्र हिसाव गर्दा चालु तर्फ रु.५ करोड ८७ लाख र पुँजीगत तर्फ रु.११ करोड १६ लाख, ८२ हजार रुपैया हुने छ । स्थानीय सरकारले प्राप्त गरेका उपलव्धिहरुलाई समुन्नत बनाउँदै आर्थिक, सामाजिक, सांस्कृतिक र सवै क्षेत्रको तीब्र विकास गरी आधुनिक कृषि प्रविधि, पर्यटन र पूर्वाधार पैंयुवासीको समृद्धिको अधार भन्ने दिर्घकालीन लक्ष्य पुरा गर्ने अठोटका साथ बजेट ल्याईएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो । यस अघि गाउँपालिकाको नीति तथा कार्यक्रम समेत सर्वसम्मत रुपमा पारित भैसकेको छ । कृषि, शिक्षा, स्वास्थ्य र स्वरोजगारलाई गाउँपालिकाले प्रमुख प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाले कृषि उत्पादन र उत्पादकत्व बृद्धिका लागि रु. ६० लाख, स्वास्थ्य सेवाका लागि रु . ५० लाख, वडा नं. ७ मा बर्थिङ सेन्टर स्थापनाका लागि रु. १९ लाख बिनीयोजन गरेको छ । प्रारम्भिक वालविकास केन्द्रका शिक्षिका र विद्यालयका कर्मचारीका लागि पारिश्रमिक स्वरुप रु।७६ लाख, नमुना विद्यालय संचालनका लागि रु.४ लाख, युवा तथा खेलकुद र शैक्षिक गुणस्तर अभिबृद्धिका लागि रु।१ करोड ५०लाख विनीयोजन गरिएको छ । वडा स्तरीय योजना तथा कार्यक्रमका लागि रु. ३ करोड ८५ लाख बिनीयोजन गरिएको छ । प्रत्येक वडामा रु. ५५ लाखको दरले बजेट बाडिएको हो । गाउँपालिका र वडा समेतको प्रशासनिक खर्चका लागि रु. ५ करोड ८७ ललाख बिनीयोजन गरिएको उपाध्यक्ष रानाले जानकारी दिनुभयो ।