डिल्लीराज वास्तोलाको १० पूण्यतिथिमा काँग्रेसले आयोजना गर्यो शोकसभा

पर्वत/कुश्मा नगरपालिका-२ खुर्कोटका राजनीतिक, धार्मिक र सामाजिक क्षेत्रका अगुवा डिल्लीराज वास्तोलाको स्वर्गारोहण भएको १० औं दिनको पूण्य तिथिमा नेपाली काँग्रेस खुर्कोटले उहाँकै निवासमा श्रद्धाञ्जली सभा आयोजना गरेर स्वर्गिय वास्तोलाको जीवनी योगदानको चर्चा गरेको छ ।

श्रद्धाञ्जली सभामा शोक मन्तव्य राख्दै नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले डिल्लीराज वास्तोलाको निधनबाट परिवारलाई भन्दा बढी समाज र राजनीतिलाई क्षति पुगेको वताउँदै समाजको रूपान्तरणका लागि उहाँले गरेको योगदान पर्वतका लागि अपुरणीय रहेको दाबी गर्नुभएको थियो । नेता जोशीले डिल्लीराज वास्तोलाको जस्तो असल चिन्तन र असल कर्मको अनुशरण सबैले गर्नसके समाज विकासमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।

सभामा स्वर्गीय डिल्लीराज वास्तोलाका कान्छा सुपुत्र यदुनाथ वास्तोलाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाली काँग्रेस खुर्कोटका सभापति तीर्थप्रसाद शर्माको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन सचिव पदम वास्तोलाले गर्नुभएको थियो ।