पर्वत/जेसीजले सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । जेसीज सप्ताह २०२३ को आज एक कार्यक्रमको बिच उद्घाटन गरिएको हो । जेसीज सचिवालयमा आज सप्ताहको उदघाटन सहित गजल वाचन कार्यक्रम एकसाथ गरिएको छ । कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालले सप्ताहको उद्घाटन गर्नुभयो । रिजालले यूवाको नेतृत्व र व्याक्तित्व विकासमा जेसीज पर्वतले रचनात्मक अभियान चलाउँदै आएको बताउनुभयो । उहाँले विद्यालय तहका बालबालिकामा पनि जेसीजको अवधारणा विकास गराउन सकेमा सानै उमेरमा नेतृत्व र व्यक्तित्व विकासको अवधारण फैलिने रिजालको सुझाव थियो ।
उपप्रमुख रिजालले समाज परिवर्तन र सृजनात्मक गितिबिधिमा जेसिजले लामो समयदेखी काम गर्दै आएकोमा आफू पनि त्यसबाट उत्प्रेरित रहेको बताउनुभयो । जेसिज वर्ष २०२३ का अध्यक्ष बिनोद आचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक सन्दिपा पौडेल, आस्थापाठ जेसीज पर्वतका सहकोषाध्यक्ष मञ्जु शर्माले गर्नुभएको थियो भने सप्ताहका कार्यक्रमहरुको बारेमा कार्यकारिणी उपाध्यक्ष हेमन्तबाबु आचार्यले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा कुश्मा नगरपालिका ६ का वडाध्यक्ष ईश्वर गिरी,शिक्षाका लागि राष्ट्रिय अभियानका अध्यक्ष राजेन्द्र पहाडी, जेसीज सिनेटर कृष्णप्रसाद श्रेष्ठ, सिनेटर अर्जुनप्रसाद चापागाईं , शिक्षाप्रेमी डिलबहादुर बुढाथोकी लगायतले बोल्नुभएको थियो । उद्घाटन कार्यक्रममा साहित्यिक स्रष्टाहरु डि.आर शर्मा, शान्तिनारायण श्रेष्ठ, ईन्द्रकुमार विकल्प, दिपसागर पौडेल, निर्मल पौडेल एनपी घायल, मगर प्रेम, बद्रीनारायण पौडेलले गजल वाचन गर्नुभएको थियो ।
जेसीज सप्ताह अन्तरगत जेठ २१ गते बित्तिय साक्षरता तालिम, जेठ २२ गते बृक्षारोपण तथा सरसफाइ, जेठ २३ गते बक्तृत्वकला प्रतियोगिता, जेठ २४ गते नेपाल पत्रकार महासंघ पर्वत र जेसीज पर्वतका बिचमा मैत्रीपुर्ण फुटवल प्रतियोगिता आयोजना गरिएको कार्यकारिणी उपाध्यक्ष हेमन्तबाबु आचार्यले जानकारी दिनुभयो । सप्ताह अन्तर्गत जेठ २५ गते तनाव व्यवस्थापन सम्बन्धि तालिम, २६ गते विधालय स्तरीय लोकनृत्य प्रतियोगिताको आयोजना गरिएको छ । जेसीज सप्ताह जेठ २६ गते जेसीज संगम सहित समापन गरिने भएको जेसीजका मिडिया व्यवस्थापक रोशन तिवारीले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रमको समापन गर्दै जेसीज वर्ष २०२३ का अध्यक्ष बिनोद आचार्यले हरेक वर्ष झैँ यसवर्ष पनि जेसीज सप्ताह मनाउन थालिएको भन्दै सबैको रचनात्मक सहयोग र सदभावको अपेक्षा गरेको बताउनुभयो । जेसीजले मनाउने सप्ताह भव्य र सभ्य तरिकाले सम्पन्न गर्न सबै संघसंस्थाको सहयोग र सद्भाव रहँदै आएको र यो वर्ष पनि सोहि अपेक्षा रहेको अध्यक्ष आचार्यले सुनाउनुभयो ।





