विभिन्न निर्णयहरु गर्दै फलेवास नगरपालिकाको १२ औं नगरसभा सम्पन्न

9

पर्वत/फलेवास नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न भएको छ । आईतवार सम्पन्न भएको नगरसभाले संसोधित बजेट पारित गरेको छ ।


संघिय र प्रदेश सरकारले दिने अनुदान कटौती गरेपछि कतिपय अलपत्र योजनाहरुको पूर्णताका लागि नगरसभाले बजेट संसोधन गर्ने निर्णय गरेको हो । नगर प्रमुख गंगाधर तिवारीको अध्यक्षतामा भएको नगरसभामा आगामी आर्थिक वर्षमा गरिने कार्य र विगत एक वर्षमा गरिएका कार्यहरुको खाका प्रस्तुत गरिएको थियो । नगरसभामा संसोधिन बजेट अनुमोदन संगै गौरवको योजनाको रुपमा रहेको मनमोहन शान्ति बाटिकाको बाँकी रहेको काम अगाडी बढाउने, सट्टामा जग्गा उपलब्ध भएकाले उक्त जग्गा सट्टामा लिनका लागि मन्त्री परिषदलाई पत्रचार गर्ने निर्णय नगरसभामा अनुमोदन भएको छ । फलेवास नगर अस्पतालको समस्या समाधान भएकाले निर्माण कार्य पुरा गर्न आवश्यक बजेटको व्यवस्था गर्ने निर्णय नगरसभाले गरेको छ । यस्तै वडा नम्बर ५ को वडा कार्यालय निर्माणका लागि जग्गाको प्राप्तीको प्रक्रिया अगाडी बढाउने, अस्थाई प्रहरीचौकीका लागि ५ रोपनी जग्गा खोजि गर्ने, आयुर्बेदिक अस्पताल लाई जग्गाको व्यवस्थापन गर्ने लगायतका निर्णय पारित भएको छ ।

नगरपालिकामा भैरहेका कार्यहरु लाई निरन्तरता दिने बारेमा पनि नगरसभामा विषयहरु उठेर त्यसउपर छलफल भएको छ । नगरप्रमुख गंगाधर तिवारीले फलेवास नगरपालिकामा समस्याको रुपमा रहेको कालिगण्डकी करिडोर विद्युत प्रसारण लाईनको विवाद मिलाईएको, नगर अस्पतालमा लामो समय देखि अल्झिएको बिबाद मिलेर काम अगाडी बढेको, मनमोहन शान्तिबाटिका लाई जग्गाको व्यवस्थापन भएको देखि सानाठूला विभिन्न विकासका काम अगाडी बढेको बताउनुभयो । उहाँले सहकार्य, सहअस्तित्व र छलफलबाट समृद्ध नगर बनाउने अभियानको शुरुवात भएको बताउनुभयो । नगरसभामा विषयमाथी टिप्पणी गरिएको थियो भने उपप्रमुख शोभाकुमारी क्षेत्रीले टिप्पणीको जवाफ दिनुभएको थियो ।

नगरसभामा नगरसभा सदस्यहरुले नगरको अहिलेसम्मका कामहरु र आगामी दिनमा गर्नुपर्ने प्राथमिकताका विषयमा आफ्नो राय प्रस्तुत गर्नुभएको थियो । फलेवास नगरपालिकाले एक वर्षका उपलब्धीहरु पुस्तक बनाएरै सार्वजनिक गरेको छ । उक्त पुस्तकाम २५२ वटा योजना सम्पन्न भएका र बाँकी योजना असार मसान्त सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । खानेपानी,सिँचाई, सडकका डेड दर्जन योजनाको काम ठेक्का मार्फत भैरहेको उल्लेख छ । तीन दर्जन भन्दा बढि साना पूर्वाधारका काम भैरहेको पनि उपलब्धीमा राखिएको छ ।

नगरको प्रमुख प्रसासकीय भवनको निर्माण कार्य दु्रत गतिमा अगाडी बढेको, विद्यालय भवनहरु, वडा कार्यालयहरुका भवन निर्माणको कार्यले गति लिएको,जिर्ण र अलपत्र रहेका योजनाहरुको पूर्णता लाई नगरले उपलब्धीका रुपमा राखेको छ । कृषि तथा पशुपालनमा आत्मानिर्भर बनाउने खालका कार्यक्रमहरु सञ्चालन गरिएको पनि नगरपालिकाले जनाएको छ । दैनिक प्रसासनिक सेवा लाई नागरिकमैत्री बनाई काम लिएर आउने नागरिकलाई समयमै सेवा उपलब्ध गराईएको, वडामा आउने कार्यहरु झण्झट रहित तरिकाले सम्पन्न भएका, स्वास्थ्यचौकीमा स्वास्थ्यसेवा सहज बनाईएको, योजना र खर्चमा पारदर्शिता, खर्चमा मितव्ययिता कायम गरिएको पनि नगरपालिकाले जनाएको छ । छलफल, सहमती र सहकार्यबाट नगरपालिकाका निर्णयहरु गर्ने र कार्यान्वयन गर्ने काम भैरहेका पनि नगरपालिकाले जनाएको छ ।