पर्वतमा २४ प्रतिशत नागरिकमा मात्रै स्वास्थ्य बिमाको पहुँच: ७६ प्रतिशत अझै पहुँच बाहिर

7

पर्वत/पर्वतको कुल जनसङ्ख्याको २४ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका छन् । स्वास्थ्य बिमा बोर्डको सम्पर्क शाखा कार्यालय पर्वतका अनुसार गत जेठ एक गतेसम्मको तथ्याङ्क अनुसार हालसम्म कुल ३१ हजार आठ सय ९७ जनाले स्वास्थ्य बिमा गरेर उपचारलाई सुलभ बनाएका छन् ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार पर्वतको कुल जनसङ्ख्या एक लाख ३२ हजार तीन सय ५२ रहेको छ । यी मध्येका २४ प्रतिशतले स्वास्थ्य बिमा गरेका हुन् । सम्पर्क शाखा कार्यालय पर्वतकी संयोजक तथा जनस्वास्थ्य निरीक्षक टिका कुमारी श्रीसले जिल्लाका सात ओटा स्थानीय तहहरूमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकाका २८ प्रतिशतले र सबैभन्दा कम महाशिला गाउँपालिकाका झन्डै १३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा छन् ।

कुश्मा नगरपालिकाको कुल जनसङ्ख्या ३८ हजार सात सय ७४ रहेकोमा ११ हजार ७३ जनाले बिमा गरेका छन् भने महाशिला गाउँपालिकाका आठ हजार दुई सय ३३ जनामध्ये एक हजार ६३ जनाले बिमा गरेका छन् ।

बिहादी गाउँपालिकाको जनसङ्ख्या १२ हजार पाँच सय २१ रहेकोमा तीमध्येका एक हजार छ सय ७४ जनाले बिमा गरेका छन् । जुन त्यहाँको जनसङ्ख्याको १३ प्रतिशत हो । जलजला गाउँपालिकामा भने बिमा गर्नेहरू धेरै देखिएका छन् । सात ओटा स्थानीय तहहरूमध्ये तेस्रो धेरै स्वास्थ्य बिमा जलजला गाउँपालिकाका बासिन्दाले गरेका छन् । जलजलाको जनसङ्ख्या २१ हजार तीन सय ७५ रहेकोमा तीमध्येका पाँच हजार चार सय २९ जना बिमाको पहुँचमा आएका छन् । जुन २५ प्रतिशतभन्दा माथि हो ।

मोदी गाउँपालिकाका नागरिक बिमा गर्नेहरूको प्रतिशतको दोस्रो स्थानमा रहेका छन् । १८ हजार १८ जनसङ्ख्या रहेको मोदीका चार हजार सात सय ९८ अर्थात् झन्डै २७ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गरेका छन् । पैयुँ गाउँपालिकाका १२ हजार सात सय पाँच नागरिकमध्ये तीन हजार ६४ जनाले अर्थात् २४ प्रतिशतले बिमा गरेका छन् । यस्तै २० हजार सात सय २६ जनसङ्ख्या रहेको फलेवास नगरपालिकाका २३ प्रतिशत अर्थात् चार हजार सात सय ९६ जनाले स्वास्थ्य बिमा गरेका श्रीसले जानकारी दिइन् ।

स्वास्थ्य बिमामा काम गर्दै आइरहेका ‘फिल्ड’ रहने तथा कार्यालयमा रहेर काम गर्ने कर्मचारीहरूका अनुसार जनताहरूलाई स्वास्थ्य बिमा कार्यक्रमको फाइदा र कार्यक्रमको नियमबारे आवश्यकता अनुसार सूचित गराउन नसक्दा बिमाप्रति आशातीत आकर्षण आइरहेको छैन ।

वडाहरूमा कार्यरत स्वास्थ्य बिमा दर्ता सहयोगीहरूलाई तालिमको अभावका कारण सेवाग्राहीहरूले बिमा सम्बन्धी आवश्यक कुराहरू बुझ्न नसक्नु, सेवा प्रदायक अस्पतालबाट सहज रूपमा विमितहरुले (उपचार सेवा÷औषधी) नपाएको गुनासो गर्नु, जिल्लाका सम्पर्क शाखा कार्यालयहरूमा आवश्यक जनशक्ति नहुनु, वडाहरूमा कार्यरत स्वास्थ्य बिमा दर्ता सहयोगीहरूको मोबाइल फोन बिग्रिएको अवस्थामा र नयाँ मोबाइलको फोन व्यवस्था गर्न नसकिएको लगायतका कारणले समस्या भइरहेको छ ।

नागरिकलाई कार्यक्रमको बारेमा सूचित गराउने, दर्ता सहयोगीहरूलाई ‘रिफ्रेसमेण्ट’ तालिम दिने, सेवा प्रदायक अस्पतालहरूले सहज रूपमा सेवा र औषधि प्रदान गर्ने, बिमाको काम गर्नका लागि जिल्लामा रहेको सम्पर्क कार्यालयलाई जिल्लाको छुट्टै कार्यालयका रूपमा विकास गर्नुपर्ने, स्वास्थ्य बिमा कार्यक्रममा विमितको फोटो खिच्नका लागि दर्ता कर्मचारीहरूलाई मोबाइल सेटको प्रबन्ध हुनुपर्ने लगायतका व्यवस्था भएमा बिमा कार्यक्रम प्रभावकारी हुने र यसमा धेरै नागरिकको आकर्षण बढ्ने सम्पर्क शाखा कार्यालय संयोजक श्रीसको विश्वास छ । यसका लागि स्वास्थ्य बिमा बोर्ड, स्थानीय तहहरू र सेवा प्रदायक अस्पतालहरूले विशेष ध्यान दिनुपर्ने देखिएको छ ।