सूचनाको हक कार्यान्वयन गर्नुपर्ने सबै सार्वजनिक निकायको जिम्मेवारी- प्रमुख सूचना आयुक्त गुरूङ

पर्वत/सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयन गर्नुपर्ने सबै सार्वजनिक निकायको जिम्मेवारी रहेको बताउनुभएको छ । पर्वतको कुश्मामा सूचना हक सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सूचना प्राप्त गर्ने नागरिकको मौलिक हक रहेको र सूचना दिनुपर्ने सार्वजनिक निकायको दायित्व रहेकोले सूचना विनिमयमा सरोकारवाला निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख सुचना आयुक्त गुरुङले पछिल्लो समय स्थानीय तह सम्बन्धि उजुरीहरु आयोगमा अत्याधिक मात्रामा आएको बताउँदै आगमी दिनमा त्यो अवस्थालाई न्यूनिकरण गर्नगर्नुपर्ने दायित्व रहेको उल्लेख गर्नुभएको थियो । कानुनमा सुचनाको हकको व्यवस्था भएपनि सर्वसाधारण सम्म उक्त हकको बारेमा जानकारी नहुँदा सूचना माग्ने काममा विधि नपुगेको भए पनि विधि पुराएर सुचना दिने कुरामा सहजीकरण गर्न पनि अनुरोध गर्नुभयो । कानुनले बन्देज गरेका अपबाद बाहेक हरेक सूचना सार्वजनिक निकायले विभिन्न विधिमार्फत सार्वजनिक गर्नुपर्ने भन्दै गुरुङले यसले लोकतन्त्र र सुसासन लाई प्रवद्र्धन गर्ने बताउनुभयो ।

प्रमुख सूचना आयुक्त गुरुङले सुचनाको हक कार्यान्वयनमा स्थानीय तह र विशेष गरी जनप्रतिनिधिहरु उत्तरदायी नदेखिएको बताउँदै त्यस तर्फ सचेत रहन समेत आग्रह गर्नुभयो । कुश्मा नगरपालिकाको व्यवस्थापनमा सञ्चालन भएको कार्यक्रममा आयोगका सचिव दिवस आचार्यले कार्यपत्र प्रस्तुत गर्दै आयोगले हाल सम्म गरेका कार्यहरुको बारेमा जानकारी गराउनुभएको थियो । साथै आचार्यले पछिल्लो समय आयोगमा परेका उजुरीहरुको बारेमा समेत जानकारी गराउँदै सूचनाको हक कार्यान्वयनमा सार्वजनिक निकायहरुको अदुर्दशिता कायमै रहेको समेत औल्याउनुभयो । कार्यक्रममा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले कुश्मा नगरपालिका सूचनाको हक कार्यान्वयनमा सँधै अगाडि रहेको बताउँदै हरेक तीन महिनामा कानून बमोजिम स्वतः प्रकाशन गरिदै आएको र सूचना प्रदानमा आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो । कुश्मा नगरपालिकाले सूचनाको सहज पहुँच विस्तार गर्न र नागरिक लाई सचेत बनाउने सम्बन्धि तालिम समेत चलाउँदै आएको बताउनुभयो ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय सूचना आयोगका शाखा अधिकृत जीवन कुँवरले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्य, कुश्मा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत चण्डिका पौडेलले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।