नगरभित्रका सबै व्यवसायीलाई करको दायरामा आउन कुश्मा नगरपालिकाको आह्वान

पर्वत/कुश्मा नगरपालिकाले नगरभित्रका सबै व्यवसायीलाई करको दायरामा आउन आह्वान गरेको छ । कुश्मा नगरपालिकाको मंगलबार सम्पन्न राजश्व परामर्श समितिको बैठकले सबैखाले व्यवसायलाई करको दायरामा आउन आव्हान गरेको हो । व्यावसाय दर्ता नगर्ने, व्यवसायिक कर नतिर्ने र दर्ता अनुसारको व्यावसाय नगर्ने जस्ता समस्या देखिएकोले सवै खाले व्यावसाय नगरपालिकामा दर्ता गरि वैधानिकता दिन राजश्व परामर्श समितिले अनुरोध गरेको हो । उक्त बैठकमा व्यावसायिका समस्याका बारेमा अन्तरक्रिया समेत गरिएको छ ।
राजश्व परामर्श समितिका संयोजक एवं उपप्रमुख स्वास्थानी रिजालको अध्यक्षता, नगर प्रमुख रामचन्द्र जोशी ज्युको प्रमुख आतिथ्यता, प्रमुख प्रसासकीय अधिकृत चण्डिका पौडेल, राजश्व परामर्श समितिका सदस्य, विभिन्न खाले व्यवसायी, उधोग बाणिज्य संघ, खेलकुद विकास समिती सहितका प्रतिनिधि सहभागी भएको बैठकमा कुश्मा नगरपालिकामा व्यावसाय दर्ता गरि कर तिर्न आव्हान गरेको हो ।

बैठकमा सहभागी सरोकारवालाले कुश्मा नगरपालिका भित्रका विभिन्न प्रकारका व्यवसायका समस्याका बारेमा अन्तरक्रिया समेत गरेका छन । व्यावसायीले नगरमा व्यावसाय सन्चालन गरेर नियमानुसारको कर तिरेपनी सहयोग र प्रोत्साहन नपाएको गुनासो गरेका छन । विश्व आर्थिक मन्दिका कारण कतिपय साना व्यावसायी पलायनको अवस्थामा रहेको हुनाले व्यावसायिका समस्या सुनुवाइ गर्न नगरपालिकाले ध्यान दिन माग गरिएको छ । नगरप्रमुख रामचन्द्र जोशीले कुश्मा नगरपालिकाले व्यावसाय शुरु गर्दा देखि नै बढी कर लगाएर तर्साउने मानसिकता नलिएको बताउनुभयो । उहाँले व्यावसाय दिगो भएपछी नियामनुसार कर तिर्न आव्हान गरिएको बताउनुभयो । व्यावसायीका हर समस्या बारे आफू अवगत रहेको भन्दै जोशीले ती समस्या नगरको सामर्थ्यले भ्याएसम्म समाधान गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा राजस्व परामर्श समितिका संयोजक तथा उपप्रमुख स्वस्थानि रिजालले आफ्नो व्यावसाय प्रवर्द्धन गर्न र बैधानिक रुपमा दर्ता हुन व्यावसायी लाई आव्हान गर्नुभयो । कर तिर्नु हरेक व्यावसायिको दायित्व रहेको भन्दै कर तिर्ने, व्यावसाय दर्ता गरि बैधानिकता दिने कुरामा व्यवसायीले ध्यान दिन रिजालले आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत चण्डिका पौडेल,द क्लिफका सन्चालक नेत्र पराजुली, हार्नेस जिपलाइनका प्रवन्धक सुनिल बानियाँ,खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङ लगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको सन्चालन कर्मचारी यामप्रसाद पौडेलले गर्नुभएको थियो ।