पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री प्रभावशाली महिला नेतृ महालक्ष्मी उपाध्याय (डिना)ने पछिल्लो पुस्तामा राजनीतिप्रतिको निष्ठा हराउँदै गएको वताउनु भएको छ । नेपाली काँग्रेस पर्वतको आयोजनामा विहिवार वर्तमान राष्ट्रिय राजनीतिका समसामयिक विषयमा बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । उपाध्यायले नेपाली काँग्रेस गुटगत राजनीति र सैद्धान्तिक विचलनका कारण कमजोर हुँदै गएको दाबी गर्नुभयो । ‘अहिलेको पुस्तामा सांगठनिक अनुशासन र जवाफदेहिता ह्रास हुँदै गएको छ, पार्टी संगठनका प्रति आकर्षित गर्न वर्तमान नेतृत्वले युवालक्षित कार्यक्रम अघि बढ्नुपर्छ ।’- उपाध्यायले भन्नुभयो । उहाँले नेपाल विद्यार्थी संघ बलियो नभइकन पार्टी बलियो नहुने वताउँदै पार्टीको दीर्घकालीन भविस्यको लागि प्रत्येक स्कुल र क्याम्पसमा नेवि संघको संगठन चुस्त हुनुपर्ने धारणा राख्नु भएको थियो । नेतृ उपाध्यायले काँग्रेसको जिम्मेवार पदमा बसेर काँग्रेसकै उम्मेदवारलाई भोट नहाल्नेहरूलाई पार्टीले कार्वाही गर्ने जानकारी समेत दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले हिजो कठिन घडीमा पनि चुनाव जित्दै आएको पर्वत काँग्रेसले यत्रो गठबन्धन हुँदा पनि कसरी चुनाव हार्यो त्यसको निर्ममतापूर्वक समीक्षा हुनुपर्ने धारणा राख्नु भएको थियो । नेतृ खतिवडाले आसन्न स्ववियु निर्वाचनलाई पार्टी नेतृत्वले गम्भीर ढंगले लिएर सबै क्याम्पसमा नेवि संघको नेतृत्व स्थापित गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल महिला संघका केन्द्रीय अध्यक्ष उषा मिश्रले टोलटोलमा महिला संघको नेतृत्व स्थापना गरेर पार्टीमा महिला सहभागितालाई बढाउन सुझाव दिनुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पार्टी सभापति युवराज जोशीले पर्वत काँग्रेसलाई रचनात्मक र जनताकेन्द्रित बनाउने अभियानमा आफू लागेको जानकारी दिँदै पछिल्लो निर्बाचनमा जिम्मेवार पदमा बसेकै व्यक्तिहरुबाट पार्टीका उम्मेदवारलाई घात भएकोमा दुख व्यक्त गर्नुभयो । सभापति जोशीले पर्वत काँग्रेसलाई सबल, सक्षम र सुदृढ बनाउन भोलिका दिनमा आफू अझै सक्रिय हुने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उपसभापति डाक्टर चूडामणि शर्मा, जिल्ला कोषाध्यक्ष हेम शर्मा पौडेल, नेपाल महिला संघ पर्वतका अध्यक्ष मुना शर्मा लामिछाने, नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष अजय पोख्रेल लगायतले बोल्नुभएको थियो ।पार्टी सभापति युवराज जोशीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन सहसचिव अच्युत तिवारीले गर्नुभएको थियो ।






