पर्वत/ फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व सोमवार देखि पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । तर, जिल्ला प्रशासन कार्यालय पर्वतले सभ्य एवम् सुरक्षितरुपमा होली पर्व मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रशासनले बिहिवार एक सन्देश निकालेर हाली पर्वलाई सभ्य, शिष्ट, स्वास्थ्यकर र मर्यादितरुपले मनाउन सबैलाई अनुरोध गरेको हो ।
फागुपूर्णिमा (होलीपर्व) को अवसरमा सम्पूर्ण जिल्लाबासीहरुमा सुख शान्ति, प्रगति, समृद्धि तथा आपसी सद्भाव र सौहार्दता अभिवृद्धि गर्न सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै प्रशासनले भनेको छ,‘होलीपर्व हर्षोल्लास पूर्वक मनाउने क्रममा कसैको इच्छा विपरित लोला हान्ने तथा पानी छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थलहरुमा होहल्ला गर्ने, बाटो ढुकेर जवरजस्ती मानिसलाई रङ्ग दल्ने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल नगर्ने अनुरोध गरेको छ ।,’
प्रशासनले कुनै पनि व्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने जस्ता अराजक गतिविधि नगर्न तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको रङ्गिन वस्तुहरु, केमिकल, प्लास्टिकजन्य सामाग्रीहरुको प्रयोग नगर्न भनेको छ ।यदि कानून विपरितका गतिविधिहरू गरे वा गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने जनाएको छ ।






