जनतालाई घरआगनमै सेवा दिन नौवटै वडामा पुग्यो जलजला गाउँपालिका

107

पर्वत/जलजला गाउँपालिकाले नागरिकले लिनुपर्ने सेवालाई सहज बनाउन वडा–वडामा नै पुगेर घुम्ती शिविर सञ्चालन गरेको छ । पौष १८ गतेदेखि शुरू भएको घुम्ती शिविर नौवटै वडामा पुगेर आज समापन गरिँदैछ । गाउँपालिकाको कार्यालयबाट प्रवाह गरिने सेवा लिन गाउँपालिकाको केन्द्रमा नै आउनुपर्ने बाध्यताको अन्त्य गर्न तथा नागरिकलाई सेवा प्रदानमा सहज बनाउन शिविर सञ्चालन गरेर सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो । अध्यक्ष आचार्यका अनुसार गाउँपालिकामा आएर सेवा लिँदा नागरिकले धेरै यात्रा गर्नुपर्ने तथा उनीहरूको समय धेरै खर्च हुने भएकाले पालिकाले जनताको घर आँगनमै पुगेर सेवा दिन शिविर संचालन गरिएको हो ।

गाउँपालिकाको कार्यालयबाट खटिएर गएका कर्मचारीहरू गाउँपालिकाका नौ वटा वडामा पुग्ने र गाउँपालिकाको कार्यालयमा पुगेर लिनुपर्ने विभिन्न सेवाहरू शिविरबाटै उपलब्ध गराउने छन्। शिविरमा सम्पत्ति तथा भूमि कर, सम्बन्धित वडाका योजना सम्झौता गर्ने, अपाङ्गता परिचयपत्र वितरण तथा निवेदन सङ्कलन, व्यवसाय नवीकरण, ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक र ‘क’ वर्गको अपाङ्गता भएका व्यक्तिहरूलाई जाडो छल्ने न्यानो कपडा (ब्लाङकेट) वितरण, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण लगायतका सेवाहरू प्रदान भइरहेका छन् ।

सामान्य प्रकारको सेवा लिनका लागि पनि लामो दूरीमा जिपको यात्रा गरेर गाउँपालिकाको केन्द्रमा आउँदा नागरिकलाई सास्ती हुने भएकाले जनतालाई सहज होस् भनेर शिविर सञ्चालन गरिएको अध्यक्ष आचार्यले बताउनु भयो । ‘गाउँपालिकाको केन्द्र नजिकै रहेका सेवाग्राहीलाई समस्या नहोला । तर सेवा लिनकै माथि माथिबाट बेसीमा आउनुपर्ने अवस्थामा नागरिकलाई सास्ती हुन्छ नै । गाडीमा आउँदा खर्च हुने, उहाँहरूको पूरै दिन जाने अवस्था छ’, उहाँले भन्नुभयो , ‘सबै प्रकारका सेवा दिने गरी कर्मचारी र जनप्रतिनिधिहरू शिविरमा भेला भएपछि एकै दिनमा सयौँ जनालाई सेवा दिन सकिन्छ। हाम्रो काम नै जनताको अवस्थामा सकेसम्म सजिलो पार्ने हो, उहाँहरूलाई सघाउने हो।’ गत पुस १४ गते बसेको कार्यपालिकाको बैठक अनुसार शिविर सुरु भएको आचार्यले जानकारी दिनुभयो । आफू स्वास्थ्यकर्मी भएको नाताले कतिपय वडामा पुगेर अध्यक्ष आचार्यले समेत स्वास्थ्य परिक्षणमा सहयोग पुर्याउनुभएको छ ।

आफ्नो घरआँगनमै घुम्ती शिबिरले पुगेपछि नागरिकहरू उत्साहित भएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो । ‘संघीयताको मर्म र भावना अनुसार पनि स्थानीय सरकार जनताको घरआगनको सरकार भएको हुँदा पालिकाले ९ वटै वडामा पुगेर जनतालाई सेवा दिन थालिएको हो । यसबाट सेवाग्राही धेरै खुसी छन् ।’- उपाध्यक्ष आचार्यले भन्नुभयो ।

शिबिरमा ज्येष्ठ नागरिकलाई लक्षित गरि न्यानो कपडा समेत वितरण गरिएको छ । अहिले चिसोको समयमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई श्वासप्रश्वास, दम, निमोनिया लगायतका स्वास्थ्य समस्या देखिने भएकाले शिविर सँगसँगै न्यानो कपडा वितरण गर्ने काम पनि भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीले जानकारी दिनुभयो । शिविर सञ्चालनको बेलामा हरेक वडावासीले राखेको अपेक्षा पनि बुझेर आइने भएकाले जनताको अपेक्षा संकलन गरेर सोही अनुसारका योजना तयार पार्नका लागि पनि शिविर महत्त्वपूर्ण रहेको अधिकृत सुवेदीको भनाइ छ ।