पर्वत प्रहरीद्वारा अपराध पहिचान ‘स्क्यानिङ्ग’ अभियान संचालन

असोज–२, पर्वत/समाजमा अपराध भैरहेपनि लुकेका अपराध बाहिर आउन नसकेको बेला पर्वत प्रहरीले भने समुदायमा नै पुग्ने गरि अपराध पहिचान ‘स्क्यानिङ्ग’ अभियान थालेको छ । प्रहरी समुदायको तहमा नपुग्दा सम्म अपराधका धेरै घटनाहरु बाहिर आउन नसक्ने भएकाले समुदाय र टोलटोलमै पुगेर ‘स्क्यानिङ्ग’ गर्ने अभियान थालेको हो ।

जिल्ला प्रहरी कार्यालयले जिल्लाका सबै बस्ती र टोलमा प्रहरी पुगेर त्यहाँ घट्ने अपराध र समुदायका सुरक्षा सम्बन्धी समस्याको जानकारी लिन थालेको छ । नगरपालिका तथा गाउँपालिकाका वडा अध्यक्ष र सदस्यहरु सहित सबै टोलमा पुगेर सुरक्षा चुनौती र समुदायको सतर्कताका बिषयमा जानकारी लिने अभियान थालिएको जिल्ला प्रहरी प्रमुख भूवनेश्वर तिवारीले बताउनुभयो ।

समुदायमा नै नपुगे सम्म प्रहरीले समुदायमा लुकेको अपराध र स्थानियबासीका समस्याहरुका बारेमा जानकारी लिन नसक्ने अवस्था भएकाले टोल र बस्ती पुग्ने अभियान थालेको तिवारीले वताउनुभयो । पर्वतका ७ वटा स्थानिय तहका ६१ वटै वडामा पुगेर अभियान सञ्चालन हुने छ । अभियान अन्र्तगत गएको हप्ता देखि जिल्लाका सबै प्रहरी युनिटहरुले वडावडामा पुगेर अन्तरकृया गर्न थालेका छन । स्थानिय तहमा रहेका घरेलु हिंसा, लागु औषध, गाँजा खेती, ट्राफिक समस्या लगायतका बिषयमा अन्तरकृया भैरहेका छन ।