सामूदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउन पैयूँ गाउँपालिकाका बिद्यालयमा खाजा कार्यक्रम शुरु

असोज–२, पर्वत/सामूदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउन पैयूँ गाउँपालिकाका बिद्यालयमा खाजा कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सबै सामूदायिक विद्यालयमा एकैपटक लागु हुने गरि खाजा कार्यक्रम शुरु गरेको हो । सामुदायिक बिद्यालयका प्राथमिक तहका बालबालिकालाई खाजाको ब्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताउनुभयो । गाउँपालिकाका २८ वटा विद्यालयमा खाजा कार्यक्रम शुरु गरेको तिवारीले बताउनुभयो । उहाँले गाउँपालिकाले यसैवर्ष खाजा कार्यक्रमका लागि १२ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उज्वल भुसालले सामुदायिक विद्यालयमा विद्यार्थीको नियमितता गराउन नसकिएको गुनासोपछि गाउँपालिकाले निशुल्क खाजाको ब्यवस्थापनका लागि बजेट विनियोजन गरेको जानकारी दिनुभयो । भदौ १ गतेदेखि पैंयँु गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयका कक्षा ५ सम्मका वालवालिकाले निशुल्क रुपमा खाजा ख्वाउन थालिएको हो । गाउँपालिकाका विद्यालय स्रोत ब्यक्ति रामप्रसाद काफ्लेले खाजाको ब्यवस्थापनले गरिब र बिपन्नता भएका बालबालिका नियमित रुपमा बिद्यालय आउने दाबी गर्नुभयो । पैयूँमा यो बर्षदेखि खाजा कार्यक्रम शुरु भएपनि महाशिलाका सबै विद्यालयमा अघिल्लो वर्ष नै शुरु भएको थियो ।

कुश्मा नगरपालिका, फलेवास नगरपालिका र जलजला गाउँपालिकाका केहि सामूदायिक विद्यालयले पनि खाजा कार्यक्रम सञ्चालन गरिरहेका छन् । जिल्ला शिक्षा समन्वय इकाई कार्यालयले ‘दिवा खाजा’ कार्यक्रम प्रभावकारी भएपछि सबै स्थानीय तहमा यो कार्यक्रमलाई प्रोत्साहन गर्ने योजना बनाएको छ ।