पर्वत/पिठ्युँमा कोदोको डोको छ, हिँडाइ हेर्दा उनी हतारमा देखिन्छन्। मानौं उनी केही चिज छुटाउँदै छिन्। जति सक्दो चाँडो पुग्ने कोसिसमा छिन्। उनको हताश देख्दा लाग्छ- मौका आएको छ, यो मौका गुमाउन चाहँदिनन्। त्यसैले पिठ्युँमा भारी भए पनि केही छिटो हिँडेर अहिलेको गन्तव्यमा पुग्न प्रयासरत छिन। उनी हुन मोदी गाउँपालिका-२ गैराथोककी सुनिता भारती।
उनको हतारोको कारण थियो, उम्मेदवरलाई भेट्न। चुनावी घरदैलो अभियान अन्तर्गत आइतबार यहाँ वाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार अर्जुनप्रसाद जोशी र प्रदेशसभा सदस्यका उम्मेदवार सुदिप कुँवर पुगेका छन्। यहि मौकामा सुनितालाई आफ्नो क्षेत्रका उम्मेदवारसँग गाउँका केही समस्या राख्नु छ। पछिल्लो पाँच वर्षमा भोग्नुपरेका पीडा भन्नु छ। चुनाव जितेपछि गाउँ फर्किन र आफ्नो गाउँका समस्या समाधानको लागि पहल लिन आग्रह गर्न चाहन्छिन्।
हुन त उनलाई गाउँमा आज उम्मेदवार आउनेबारे पूर्व सूचना थियो। उनी उम्मेदवरलाई पर्खेर बसेकी पनि हुन्। उम्मेदवार नआइपुगेपछि उनी खेतबारी तिर लागिन्। गाउँ आजभोलि कामको चटारोमा छ। बाली पाकेका छन्। बालिलाई घर भित्र्याउने बेला छ। प्राय मानिस खेतबारीमै व्यस्त हुन्छन्। घरमा कमै मात्र मानिस भेटिन्छन्। उम्मेदवारलाई भेट्ने चाहना उनीहरूलाई पनि हुँदो हो। तर, बाली भित्र्याउने सिजन भएको हुँदा उम्मेदवारलाई भेट्न सकिरहेका छैनन्। आफ्ना समस्याहरू सुनाउन पाइरहेका छैनन्। केही मानिस उम्मेदवार गाउँ आएको सूचना पाएपछि पर्खिने पनि गरेका छन्।
उम्मेदवारलाई भेटेपछि सुनिताले भनिन्, ‘अघिल्लो चुनावपछि हाम्रो ठाउँमा केही योजना आएनन्। सडक छ, गाडी गुड्दैन। सडकको स्तरोन्नति समेत भएन। स्थानीय सरकारबाट पनि हामीले सहयोग पाएनौं। आश्वासन पाउने तर सुविधा नपाउने अवस्था छ। समस्या बोकेर जान्छौं तर समाधानको पहल कहिबाट हुँदैन।’ बितेको पाँच वर्षमा आफ्नो गाउँको विकासका लागि बजेट नआएकोमा उनी दुखी छन्। गत चुनावमा निर्वाचित सांसदले मतदानलाई लिएर विकासका गतिविधिमा विभेद गरेको उनको बुझाई छ।
सोही ठाउँकी खिन्नाउरी क्षेत्रीले गाउँको प्रमुख समस्या सडक भएको बताइन्। घरदैलोको सडकमा गाडी नगुड्दा गाउँमा उत्पादन हुने कृषि बस्तु बजारसम्म पुर्याउन नसकेको पीडा उनीसँग छ। बजार आउन जान निकै कठिन रहेको उनले सुनाइन्। हिँडेर आउँदा जाँदा निकै समय खर्चिने र शारीरिक थकावट हुने हुँदा थप घरेलु काम गर्न नसकिएको बताइन्। उनले भनिन्, ‘हामीलाई सडक चाहिएको छ। बजार आउन जान कठिन भयो। गाउँमा अलिअलि कृषि उपज छन्। हामीले बजारसम्म पुर्याउन सकेका छैनौं। सडकमा गाडी चल्दा अलिकति आयआर्जन हुन्थ्यो कि भन्ने आशा लाग्छ। बिकटताका कारण हामीलाई गाह्रो छ।’
अधिकांश नेता भोट माग्न मात्र गाउँमा आउने, चुनाव जितेपछि गाउँ नआउने गरेको गुनासो जनस्तरमा व्याप्त छ। कतिपयले चुनावका गरेका प्रतिबद्धता पुरा नहुँदा भोट माग्न गाउँ पुगेका नेताप्रति अविश्वास पनि प्रकट गरे। साथै उनीहरुले यसपालि गठबन्धनका उम्मेदवारले जितुन् भन्ने ईच्छा पनि प्रकट गरे।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार जोशीले स्थानीय समस्याप्रति आफू गम्भीर रहेको बताए। पाँच दलीय गठबन्धनको सरकार बनेसँगै विकासका गतिविधि अघि बढिरहेको उनले बताए। विकास र समृद्धिका निम्ति मुलुकको राजनीतिक ठिक हुनुपर्ने उनले बताए। एक व्यक्तिको महत्वकांक्षाको कारण अघिल्लो कार्यकालमा मुलुकको विकास सही ढंगले अघि बढ्न नसकेको जोशीको दाबी छ। जोशीले भने, ‘हामी विकास माग्छौं। विकास चाहिन्छ। तर मुलुकको राजनीति ठिक भएन भने त्यो अपेक्षा पुरा गर्न सकिँदैन। गत कार्यकालमा हामीले त्यो भोग्न पर्यो। त्यसैले अब गठबन्धनलाई जिताउनुहोस्। तपाईंलाई पछुतो हुने छैन। म यो विश्वास दिलाउन चाहन्छौं।’ उनले चुनावपछि पनि आफूहरू नागरिकको साथमा रहने प्रतिबद्धता पनि गरे।
प्रदेशसभा उम्मेदवार कुँवरले स्थानीय पूर्वाधार विकाश आफ्नो पहिलो प्राथमिकता रहेको बताए। चुनाव लगत्तै सडकको समस्या समाधान गर्न पहल लिने विश्वास उनले दिलाए। उनले स्थानीय समस्या समाधानको लागि आफू नागरिकको साथमा उमिने प्रतिबद्धता पनि गरे। ‘सडकको स्तरोन्नतिका लागि तत्काल काम अघि बढाउने विश्वास दिलाउन चाहन्छौं,’ कुँवरले भने, ‘सडक हाम्रो विशेष प्राथमिकतामा छ। हामी गम्भीर छौं।’
सडक नियमित सञ्चालनमा आए यहाँको पर्यटनमा प्रवर्धनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। पर्यटन मार्फत यहाँको आर्थिक उन्नति हुने सम्भावना रहेको उनले बताए। विकाशको आकांक्षा पुरा गर्ने जिम्मेवारीका साथ आफूहरू गठबन्धन गरेर चुनावमा होमिएको उनको भनाई छ।







