आयोगद्वारा आचारसंहिता लागु हुनुभन्दा एकमहिना अगाडिको कार्यक्रमको विषयमा काँग्रेस उम्मेदवार जोशीमाथि स्पष्टिकरण

पर्वत/निर्वाचन आयोगले पर्वतका प्रतिनिधिसभाका उम्मेदवार अर्जुनप्रसाद जोशीसंग आचारसंहिता लागु हुनुभन्दा एकमहिना अगाडीको मितिको कार्यक्रमका बारेमा स्पष्टिकरण सोधेको पाईएको छ । मंसिर ४ मा हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता लागु भन्दा असोज १२ गतेबाट लागु भएको थियो । तर आयोगले जोशीलाई आर्थरडाँडाखर्कमा २०७९ भदौ २४ गते पञ्चकोशी माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकोमा स्पष्टिकरण सोधेको हो ।

आचारसंहिता लागु हुनुभन्दा एक महिना अगाडीको कार्यक्रमको विषयमा आफुलाई आयोगले स्पष्टिकरण सोधेकोमा जोशीले आश्चर्य प्रकट गर्नुभएको छ । निर्वाचन आयोगमा गरिएको उजुरी उपर गहिरो गरि अध्ययन नगरि निर्वाचन आयोगले उम्मेदवारलाई स्पष्टिकरण सोधिएपछि आयोगको निष्पक्षतामा समेत प्रश्न उठेको छ । निर्वाचन आयोगका कानून अधिकृत मोहनराज जोशीद्धारा हस्ताक्षरित पत्रमा जोशीलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन माग गरिएको छ । आयोगको स्पष्टिकरणलाई सम्मान गर्दै प्रतिनिधीसभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले जिल्ला निर्वाचन कार्यालयमा जवाफ पेश गरिसक्नुभएको छ ।

नेता जोशीले आफ्नो पक्षमा देखिएको जनलहरलाई देखेर वद्नाम गर्ने उदेश्यले आयोगमा उजुरी गरिएको ठहर गर्नुभएको छ । साथै झुठो आरोप लगाएर चरित्र हत्या गरिएको हुनाले उजुरीकर्तालाई नै कारवाहीको माग गर्नुभएको छ । पञ्चकोशी माविमा सामाग्री वितरण गरेर अभिभावकहरुलाई प्रभावित गर्न खोजिएको भन्दै आयोगले ध्यानाकर्षण गराएको थियो ।