झाडीले ढाकिएको जमिनमा किवीखेती शुरु भएपछि किसान उत्साहित

भदौ, ३१ पर्वत/कुश्मा नगरपालिका ३ दुर्लुङमा झाडीले ढाकिएको जमिनमा अहिले किवीखेती शुरु गरिएको छ । झाडी फाँडेर स्थानीय कृषक खेमवहादुर गुरुङले किवीखेती शुरु गर्नुभएको हो । सिँचाईको सुविधा नभएको र घरमा काम गर्ने मान्छेको अभावमा उहाँले आफ्नो जमिन बाँझो राख्नुभएको थियो । उहाँले किवीको महत्वबारेमा कृषि विकास कार्यालयवाट ४ वर्ष अगाडी तालिम लिएपछि खेती गर्ने सोच बनाउनुभएको थियो ।
त्यहि सोच अनुसार उहाँले परिक्षणको रुपमा १० वटा विरुवा रोप्नुभयो । बाँझो रहेको जमिनमा लगाएको १० वटा विरुवाले अहिले फल दिन थालेको छ । उहाँले परिक्षण सफल भएपछि खेती विस्तारको योजना बनाउनुभएको छ । यो हिउँदमा कोदो टिपेपछि वारीभरि किवी लगाउने योजनामा गुरुङले वताउनुभयो । खेमवहादुरको सिको गर्दै स्थानीय चनौटो आमा समूहको सक्रियतामा यसवर्ष देखि दुर्लुङ गाउँभरि किवी खेती गरिने भएको छ । त्यसका लागि नगरपालिका संग सहयोगको माग गरिएको छ । नगरप्रमुख रामचन्द्र जोशीले खेमवहादुरको किवीखेतीको स्थलगत अवलोकन गरेर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले यसका लागि कृषिविज्ञहरु संग सल्लाह गरेर आवश्यक वजेटको व्यवस्था गर्ने कृषकहरुलाई आश्वसन दिनुभयो ।
नयाँ खेती भएकाले तालिम पनि आवश्यक पर्ने र वजारको पनि संभावना हेर्नुपर्ने भएकाले नगरपालिकाले आवश्यक परामर्श पछि खेती विस्तारका लागि कार्यक्रम तय गर्ने वताउनुभयो । कृषकहरुका बिचमा किवी नयाँ फल हो । नेपालमा यसको खासै महत्व नभएपनि विदेशमा यसको माग उच्च छ । पर्यटकिय नगरि पोखराका पाँचतारे होटलहरुमा पनि यसको राम्रो खपत हुने गरेको कृषि विज्ञहरुले बताउने गरेका छन् । कृषिज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीका अनुसार ३०० रुपैयाँ किलोमा विक्री हुने गरेको छ । एउटैवोटमा ५० किलो सम्म किवी फल्ने उहाँको अनुभव छ । अरु फल भन्दा किवीवाट कृषकहरुले तेब्बर आम्दानी गर्न सक्छन् । नेपालको १४ सय देखि २ हजार मिटर उच्च क्षेत्रमा यसको उत्पादन हुने गरेको रेग्मीले बताउनुभयो । अन्य खेतीभन्दा किवी खेती कम मिहेनत गरेर अधिक आम्दानी लिने खेती भएकाले यसको व्यवसायिक खेती विस्तार गर्ने सोचमा रहेको रेग्मीले बताउनुभयो ।
दुर्लुङको किवीखेतीको अवलोकन र स्थानीय कृषक संग स्थलगत रुपमा परामर्श आदानप्रदान गर्न नगरप्रमुख जोशी, कृषि विकास अधिकृत वासुदेव रेग्मी, नगरपालिकाका प्रसासकिय अधिकृत सुवासकुमार लामिछाने, लेखा अधिकृत कृष्णप्रसाद शर्मा, कुश्मा ३ का वडाध्यक्ष तेजप्रसाद पाध्या र ४ का वडाध्यक्ष मिना कर्माचार्य त्यहाँ पुग्नुभएको थियो । दुर्लुङ किवीका लागि अति उपयुक्त रहेको ठहर गरेको छ ।