‘परदेशी २’ को ‘के बर मागी फर्केऊ भन’ गीत सार्वजनिक

8

पर्वत/नारायण रायमाझीले निर्देशन गरेको फिल्म ‘परदेशी २’ को ‘के बर मागी फर्केऊ भन’ बोलको गीत सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो। रामभक्त जोजिजुले गाएको गीत ‘के बर मागी फर्केऊ भन’लाई रिमेक गरिएको छ। यसको रिमेक भर्सनमा निशान भट्टराईको स्वर रहेको छ । रोमान्टिक गीतमा अभिनेत्री केकी अधिकारी र गायक तथा अभिनेता प्रकाश सपुतलाई देख्न सकिन्छ।

रमेश पौडेलको शब्द रहेको गीतमा निर्देशक रायमाझीले संगीत भरेका छन् भने मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ। राजेश बंशल र निर्दशक रायमाझीको लगानी रहेको फिल्ममा केकी र सपुतसँगै दीलिप रायमाझी, प्रशान्त तामाङ, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ। यो गायक सपुतको डेब्यू फिल्म पनि हो।

‘परदेशी’मा वैदेशिक रोजगारीको विषय समेटिएको थियो भने यसको सिक्वेलमा विद्यार्थीहरूको विदेश मोह समावेश छ। फिल्मको कथा रमेश बिजीले तयार पारेका हुन्।मनकृष्ण महर्जनले छायांकन गरेको फिल्मलाई दिर्घ खड्काले सम्पादन गरेका छन्। यो फिल्म असोज १४ गतेदेखि प्रदर्शन हुनेछ।