राज्यले उदासिनता देखाएपछि अमृत जोशी स्मृति प्रतिष्ठानद्धारा जीर्ण दोबिल्ला पुल मर्मत

129

पर्वत/दक्षिणी क्षेत्रका अधिकांश क्षेत्रहरू जोड्ने गरी कुश्मा नगरपालिका–८ चुवा स्थित मोदी खोलामा रहेको मोटरेवल पुलको मर्मत कार्य सुरु भएको छ । पर्वत जिल्लाको राजनीतिक एवं सामजिक व्यक्तित्व स्वर्गिय अमृतप्रसाद जोशीको स्मृतिमा स्थापना भएको अमृत जोशी स्मृति प्रतिष्ठानले मोटरेवल पुलको मर्मत कार्य थालेको हो । पुलमा गुडिरहेको अवस्थामा सवारीका टायर नै भ्वाङबाट पुलभित्र छिर्दा समेत पुलको मर्मतमा कसैको चासो नदेखाएपछि प्रतिष्ठानले पुलको मर्मत कार्य सुरु गरेको हो ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा सोही प्रतिष्ठानको नाममा रहेको सार्वजनिक पार्क तथा पिकनिक स्पटको व्यवस्थापनको लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर प्रदेशका मन्त्रीहरूले आफू अनुकूलका प्रतिष्ठानहरूलाई मनलाग्दी बजेट विनियोजन गर्दै ट्रस्ट तथा प्रतिष्ठानहरूलाई बजेट विनियोजन गरेको भन्दै तीव्र आलोचना भएको थियो । प्रदेश सरकारका मन्त्रीहरूले भन्दा पहिले नै जोशी प्रतिष्ठानले बजेट सार्वजनिक जग्गामा प्रयोग हुने भएपनि आलोचना र विवादकाबिच आउने बजेट नलिने भन्दै मुख्यमन्त्रीलाई बजेट फिर्ता लिएर प्राथमिकताको क्षेत्रमा प्रयोग गर्न अनुरोध गरेको थियो ।
मन्त्रीहरूले आफू अनुकूल बजेट विनियोजन गर्दा पनि जीर्ण अवस्थामा रहेर गुडिरहेको गाडी नै मोदी नदीमा खस्नसक्ने अवस्थामा आइपुग्दा पनि पुलको मर्मत हुन नसक्दा प्रतिष्ठान आफैले लगानी गरेर सवारी दुर्घटनाको जोखिम टार्नको लागि काम सुरु गरिएको प्रतिष्ठानका सचिव माधव पौडेलले बताए। ‘पुल छियाछिया अवस्थामा रहेको छ। यहाँका फलामे पाताहरू सबै उक्किएका छन्, नटहरू फुस्किएका छन्। गुडिरहेका सवारी कुन बेलामा मोदीमा पुग्नुपर्ने हो ठेगान नै छैन,’ उनले भने, ‘प्रतिष्ठानको काम नै सामाजिक सेवा हो। अहिले आएको बजेटका बारेमा प्रतिष्ठानलाई बेकारमा जोडिएको छ। तीन जिल्लाका मान्छेले पिकनिक खाने पूजा गर्ने सार्वजनिक ठाउँमा रहेको पार्क व्यवस्थापनको काम प्रतिष्ठानले गरेको हो। व्यक्तिका लागि त्यो बजेट थिएन, तर मान्छेले कुरै नबुझी हल्ला गरिहाल्छन्।’

सचिव पौडेलका अनुसार प्रतिष्ठानले नै फलामका पाता, फलामका बीम, श्रमिक, ढुवानी लगायतको व्यवस्थापन गरेर पुलकको मर्मत कार्य थालेको हो। कुश्मा नगरपालिकाको समन्वयमा भइरहेको काम सक्नका लागि कम्तीमा पनि एक हप्ता लाग्ने र त्यसका लागि पाँच लाख रुपैयाँ भन्दा बढी खर्च हुने उनले बताए। पुलका पातामा कसिएका नट र पाताहरू कमजोर रहेको पाइएको लागत थप बढ्न सक्ने छ । पूलको मर्मत कार्यको अवलोकनमा प्रतिष्ठानका नेपाली कांग्रेस पर्वतका उपसभापति शिवप्रसाद सुवेदी, सल्लाहकार कमलनाथ शर्मा, कोषाध्यक्ष निर्मल विश्वकर्मा, सदस्य ईश्वरी पाठक, पत्रकार गणेशबहादुर क्षेत्री, साजन परियार लगायतको उपस्थिति रहेको थियो।

यसैवीच नेपाली काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले सार्वजानिक स्थलको पार्क निर्माणका लागि विनियोजन भएको बजेटलाई प्रतिष्ठानको स्वार्थको लागि मात्र खर्च गर्न खोजिएको बुझाई बाहिर आएका कारण आफूले त्यो बजेट रोकेर प्राथमिकताको क्षेत्रमा लगाउन अनुरोध गरेको जानकारी दिनुभएको छ । अमृत जोशी स्मृति प्रतिष्ठानका संरक्षक समेत रहेका काँग्रेस नेता जोशीले पर्वतको उत्तर र दक्षिण क्षेत्रलाई जोड्ने महत्त्वपूर्ण दोबिल्ला पुल जीर्ण अवस्थामा पुग्दा पनि सम्बन्धित निकायको ध्यान नपुग्नु दुःखको कुरा भएको बताउँदै पुलका लागि बजेट व्यवस्थापन गर्न प्रदेश सरकारसँग कुरा गरेको जानकारी समेत दिनुभयो । ‘पुलको बारेमा प्रदेशमा बुझ्दा मर्मतको लागि टेन्डर भएको तर रकमको स्रोत सुनिश्चित नभएको भन्ने आयो। मैले तत्कालै प्रदेशका मन्त्रालयहरुमा कुरा गर्दा स्रोत खोजौँला भन्ने कुरा भएको छ,’ उनले भने, ‘सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठसँग कुरा गर्दा उहाँले आफ्नो ट्रस्टको लागि विनियोजित रकम मध्येबाट ५० लाख रुपैयाँ यस्तै काममा लगाउन मन्जुर हुनुभएको छ।’ पुलको लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने कुरामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग पनि कुरा भइरहेको नेता जोशीले वताउनु भयो ।

सरकारी प्रक्रिया अनुसार रकम निकासा, टेन्डर, लगायतका काम गर्दा केही समय लाग्ने तर पुलमा कति बेला दुर्घटना हुन्छ भन्ने जोखिम रहेकाले प्रतिष्ठानको तर्फबाट मर्मतको नेतृत्व गरिएको पनि उहाँको भनाई छ। त्यस बारेमा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र वडाध्यहरुसँग पनि सहकार्य गरिने उहाँले बताउनुभयो । आफू निर्वाचनमा पराजित भएको भए पनि सरकारी निकायले काम नगरेको अवस्थामा परोपकारी कामको लागि अमृत जोशी स्मृति प्रतिष्ठानको तर्फबाट पुलको मर्मत गर्न तयार भएको जोशीको भनाई छ।