पर्वत/नेपाली काँग्रेस फलेवास नगरकार्यसमितिले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार आयोजित नगरस्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा फलेवास नगरपालिका ११ वटै वडाका पार्टी पदाधिकारी र नगरभित्रका विभिन्न भातृ तथा शुभेच्छुक सङ्गठनका पदाधिकारीसहित दुई सयभन्दा बढी नेता, कार्यकर्ताको सहभागिता रहेको थियो । ‘घर घर जाऔँ–काँग्रेसलाई जिताऔं’ अभियानलाई सार्थकता बनाउन र आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कार्यक्रमको आयोजना गरेको नगर सभापति हिरामणि सापकोटाले जानकारी दिए ।
उक्त कार्यक्रममा आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई कसरी बिजय गराउने, नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुमा क्रियाशिलता बढाउने, जनतालाई नेपाली काँग्रेस तर्फ आकर्षित गर्ने, गाउँ शहर साझेदारीको विकास गरी उद्यमशीलताको विकास गर्ने र प्रजातान्त्रिक समाजबादको लक्ष प्राप्तिका निम्ति आधार तयार गर्ने विषयमा कार्यकर्ताहरुलाई प्रशिक्षित गराईएको सापकोटाले बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य, अर्थविद् एवम् प्राध्यापक डाक्टर गोविन्दराज पोखरेल, नेपाली काँग्रेसकी केन्द्रिय सदस्य एवम् केन्द्रिय प्रतिनिधी प्रतिमा गौतम, नेपाली काँग्रेसका पूर्व मुख्य सचिव एवम् नेपाली काँग्रेस पर्वतका नेता ऋषिकेश तिवारी,नेपाल शिक्षक संघका बरिष्ठ उपाध्यक्ष एवम् नेपाली काँग्रेसका महासमिति सदस्य यम पी. भुसालले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशी, संघिय साँसद लालकाजी गुरुङले मन्तव्य राखेका थिए । नगर सभापति सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपसभापति नन्दलाल शर्मा र कार्यक्रमको संचालन सचिवद्धय धनवहादुर थापा र अर्का सचिव चित्रप्रसाद शर्माले गरेका थिए ।