पर्वत/सामुदायिक प्रहरी सेवा केन्द्र पर्वतको अध्यक्षमा राजन जोशी निर्वाचित भएका छन् । शनिबार सम्पन्न केन्द्रको छैठौ अधिवेशनले सर्बसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा तुप्लाकुमारी शाक्य र सरस्वती भण्डारी, सचिवमा सरस्वती शर्मा जिज्ञासु, कोषाध्यक्षमा नारायण कुँवर र सदस्यहरुमा आशिष जोशी, संविधान गिरी, नयानाथ शर्मा, प्रेम गुरुङ, अजिता शर्मा चयन भएको निबर्तमान अध्यक्ष शिवप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन नेपाली काँग्रेसका निबर्तमान केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले गर्नुभएको थियो । सो अवसरमा बोल्दै जोशीले प्रहरी र नागरिकको समन्वय र सम्बन्धले समाजमा शान्ति कायम हुने र समाजमा हुने आपराधिक घटना पनि कम हुँदै जाने बताउनुभयो । उहाँले समाजमा अपराध न्युनिकरण गर्न, समाजमा शान्ति कायम गर्न, सचेतना जगाउन र तल्लो तहबाटै न्याय दिलाउन पनि सामुदायिक प्रहरी सेवा केन्द्र महत्वपूर्ण भएको धारणा राख्नुभयो । सामुदायिक प्रहरी सेवा केन्द्रले पर्वतमा गर्दै आएको भुमिकाको प्रशंसा गर्दै जोशीले आगामी दिनमा पनि यसको सक्रियता अझै बढ्ने बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति डा.चुडामणी शर्मा, महाधिवेशन प्रतिनिधि बसन्तबहादुर सिके, नेकपा एमाले पर्वतका सचिव गोबिन्द पहाडी, नेकपा माओबादीका नेता एवम् पर्वत अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष शंकर गिरी, प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, पर्वतका प्रहरी प्रमुख शिवकुमार बुढाथोकी, केन्द्रका पूर्वअध्यक्ष मानकुमारी गिरी, निर्वाचन अधिकृत भोलानाथ शर्मालगायतले बोल्नुभएको थियो । सामुदायिक प्रहरी सेवा केन्द्र पर्वतका निवर्तमान अध्यक्ष शिवप्रसाद सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राजन जोशीले गर्नुभएको थियो । कार्यक्रमको धन्यबाद ज्ञापन तिला गिरीले गर्नुभएको थियो ।