पर्वत/जलजला गाउँपालिका-७ धाइरिङको मिलनचोकमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरबाट करिब दुईसय भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखासँगको सहकार्यमा अन्तराष्ट्रिय पर्वत समाजले शनिबार एकदिने विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरमा स्त्रीरोग विशेषज्ञ धर्मदेव ढकाल,अनु हिराचन,दन्तरोग विशेषज्ञ कृष्ण सुवेदी र जनरल चिकित्सक हेमन्त बास्तोलाले सर्वसाधरणहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।
शिविरको उदघाटन गर्नुहुँदै जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जलजला गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोमा अन्तर्राष्ट्रिय पर्वत सेवा समाजलाई धन्यबाद दिनुभएको थियो । प्रवासमा रहेर पनि जन्मभूमिको विपद् व्यवस्थापन,शिक्षा र स्वास्थ्यका क्षेत्रमा पर्वत समाजको ठूलो योगदान रहेको उहाँले बताउनुभयो । अध्यक्ष मल्लले स्वास्थ्य अति संवेदनशील क्षेत्र भएकाले आफूले पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाबाट काम गरेको वताउनु भएको थियो । शिविरको उद्घाटन सत्रमा अन्तर्राष्ट्रिय पर्वत सेवा समाजका नेपाल संयोजक मुना भुसाल, पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरि लगायतले आफ्ना विचार व्यक्त गर्नुभएको थियो । शिविरको उदघाटन सत्रको सभापतित्व संगीता कार्की र संचालन नविन जिसीले गर्नुभएको थियो ।
शिविरमा एकसय ७५ जना महिला,र ४० पुरुषले सेवा लिएको उपाध्यक्ष तथा कार्यक्रम संयोजक संगिता कार्की कुँबरले जानकारी दिनुभयो । शिविरमा निशुल्क स्वास्थ्य परिक्षण,परामर्श सेवा र औषधि वितरण गरिएको अन्तराष्ट्रिय पर्वत समाजकी नेपाल संयोजक मुना भुषालले बताउनुभयो । शिविरमा मल्लाझ,बासखर्क,लेखफाँट,सालिजा, धाइरिङ,बनौ र नागलिङका सर्बसाधरणहरुले सेवा लिएका थिए ।