पर्वत/कुश्मा नगरपालिकाका अनाथ तथा असहाय बालबालिकालाई न्यानो कपडा र स्कुले झोला वितरण गरेको छ । नगरका सबै १४ वटा वडाका बालबालिकालाई नगरपालिकाको महिला तथा बालबालिका शाखाको बजेटबाट ५० जना अनाथ तथा असाहाय बालबालिकालाई स्विटर र झोला वितरण गरेको हो ।
महिला विकास निरीक्षक बुद्धकुमारी अर्यालले अनाथ तथा असाहाय बालबालिकालाई जाडोबाट जोगाउन र पढाईमा सहजता होस भने नगरले सहयोग गरेको जानकारी दिनुभयो । कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख सीता काफ्ले लामिछाने, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारी, सामाजिक विकास अधिकृत डिलकुमारी शर्माले सामाग्री वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख जोशीले स्थानीय सरकारको हैषियतले कुश्मा नगरपालिकाले अनाथ बालबालिकाको संरक्षण र सम्वर्दनका लागि काम गर्दै आएको बताउनुभयो । कुश्मा नगरपालिकाले १६ वर्षमुनीका बालबालिकालाई न्यानो कपडा र झोला वितरण गरेको बताउँदै अनाथ बालबालिकाका लागि आगामी दिनमा पनि सक्दो सहयोग गर्ने जोशीले प्रतिबद्धता जनाउनुभयो ।

अभिभावक विहीन बालबालिका लाई निशुल्क शिक्षादिक्षा संगै दैनिक आवश्यक सामाग्री प्रदान गरेर राज्यले सहयोग गर्नुपर्ने उहाँले धारणा राख्नुभयो । सामाग्री वितरणले बालबालिकालाई सहजता र हौसला बढाउन प्रेरणा प्राप्त भएको उपप्रमुख सीता काफ्ले लामिछानेले बताउनुभयो । नगरपालिकाको हैषियत अनुसार हाल लाई सहयोग गरेको बताउँदै उहाँले आगामी दिनमा छुट भएका अन्य बालबालिका लाई पनि सहयोग गर्ने योजना रहेको जानकारी दिनुभयो।






