कम्युनिष्टको गफमात्रै : अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो अर्बौंको बजेट

1200

पर्वत/न बजेट न डिपिआर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बसेर गत चैत्र २१ गते एकैदिन गरेको भनिएको एकसय ६५ वटा सडकको शिलान्यास जनताको आँखामा छारो हाल्ने र तमासा गर्ने काम भएको भनि जनस्तरबाट व्यापक विरोध हुन थालेको छ । पर्बत बेनीदेखि मल्लाज- माझफाँट -लेखफाँट हुँदै सालिजा-नागी-राम्चे जोड्ने सडकलाई केपी ओलीले शिलान्यास गरेपनि जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को पहलमा अहिले मात्रै वर्तमान देउवा सरकारले ४० करोड रूपैयाँ बिनियोजन गरेको वताइएको छ । पूर्ववर्ती सरकारले ५० करोड रूपैयाँ विनियोजन गरेको तर वर्तमान सरकारले बजेट कटाएको भनेर एमाले नेता कार्यकर्ताहरूले अफवाह फैलाएको भएपनि उक्त योजनामा यसअघि कुनैपनि बजेट नभएको सडक विभागले जानकारी दिएको छ ।

सस्तो लोकप्रियताका लागि डिपिआर नै नगरि ‘एक निर्वाचन क्षेत्र, एक सडक’ शिलान्यासका नाममा ओलीले गत चैत्र २१ गते वालुवाटारमा बसेरै जुममार्फत १६५ वटा सडकको एकैदिन शिलान्यास गरेको घोषणा गरेका थिए । तर सोही सडक अन्तगर्त शिलान्यास भएको भनिएको मल्लाज -लेकफाँट-नांगी सडकमा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णको पहलमा मूख्य सचिव शंकरदास वैरागी र प्रधानमन्त्री शेरबहादुर देउवाले यसै आर्थिक वर्षको बजेटमा ४० करोड रूपैयाँ विनियोजन गरिदिएपछि कार्तिक भित्रमा टेण्डर आह्वान हुने भएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

त्यसैगरि जलजला २,३,४ को मोहनचोक जोड्ने तेर्सोबाटोको लागि २० करोड र पर्बत बेनीका युवाहरूको स्वरोजगार र एकीकृत वस्ती संरक्षणको लागि २ करोड रूपैयाँ विनियोजन गर्न सफल भएको मल्लले वताउनु भएको छ । अध्यक्ष मल्लले यो बजेट क्रमागत भएकोले १० करोड पुग्ने दाबी गर्नुभएको छ । उहाँले यसअघि ओलीले शिलान्यास गर्दा ती सडकको डीपीआर पनि नभएको, लागत कति लाग्छ भन्ने समेत थाह नभएको र बजेट समेत नभएको अवस्थामा सस्तो लोकप्रियताका लागि बालुवाटार बसेर स्वीज थिचेर शिलान्यासको तमासा मात्रै गरेको आरोप लगाउनु भयो ।

कम्युनिष्टहरूले आफूहरूलाई भ्रम सिर्जना गरेको भनेर जलजलाका नागरिकहरूले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्न थालेका छन् । विना बजेट सडक शिलान्यासको तमासा गर्ने र गाउँमा बाजागाजा गरेर भोजभतेर खाने अनि बजेट नआएपछि नयाँ सरकारले काट्यो भनेर जनतामा हल्ला मच्चाउने एमाले नेता कार्यकर्ताप्रति सर्वसाधारणको टिप्पणी शुरू भएको हो । केन्द्र र प्रदेश सरकार सबै नेकपाको एकलौटी हुँदासमेत जलजलामा काँग्रेसले जितेको कारण नेकपा सरकारले जलजलाको विकास निर्माणमा समेत पूर्ण विभेद गरेको जलजलाका नागरिकहरूको आरोप छ । उनीहरूले जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)को पहुँचका कारण अब नयाँ सरकार मार्फत जलजलामा अर्बौंको बजेट भित्रिन लागेकोमा खुसी व्यक्त गरेका छन् ।