प्रधानमन्त्री देउवाद्वारा पर्वतको वीपी स्मृति भवनको औपचारिक उद्घाटन

178

पर्वत/नेपाली कांग्रेस पर्वतद्वारा निर्माण गरिएको नव निर्मित वीपी स्मृति भवनको कांगेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्नुभएको छ । राजधानी काठमाण्डौंबाट जुम प्रविधि मार्फत भवन उद्घाटन गर्नुभएका प्रधानमन्त्री देउवाले सुविधासम्पन्न भवन निर्माण गरेकोमा पर्वत काँग्रेसलाई बधाई दिनुभएको छ ।

पार्टी सभापति समेत रहेका देउवाले सवै जिल्लामा कार्यालय भवनहरु निर्माण हुने क्रम भइरहेको भन्दै पार्टीको आफ्नै कार्यालय बन्नुले कार्यकर्ताहरुका लागि सुख दुःख विसाउने थलो हुने विश्वास समेत ब्यक्त गर्नुभयो । अति संक्षिप्त मन्तव्य दिनुभएका देउवाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सुझाव समेत दिनुभएको थियो ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट विभाजन भएर कांग्रेस ठूलो हुने सोच नराखी सबै कम्युनिष्टहरूका विरूद्धमा लड्न सक्ने शक्तिशाली काँग्रेस निर्माणका लागि कार्यकर्तालाई आग्रह गर्नुभएको थियो । नेता पौडेलले अब कार्यकर्ताले नेतृत्वलाई दोषारोपण गर्ने नभै १४ औं महाधिवेशनमार्फत असल र चरित्रवान् नेता छान्न सुझाव दिनुभएको थियो । बरिष्ठ नेता पौडेलले पार्टीमा लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले सुविधासम्पन्न भवन निर्माणका लागि पर्वत काँग्रेसले देखाएको हार्दिकता र एकताको प्रशंसा गर्नुभएको थियो । नेता जोशीले आफ्नो नेतृत्वमा आम कार्यकर्ताले देखाएको उत्साहपूर्ण सहयोगले भवन निर्माणमा आर्थिक अभाव कहिल्यै नभएको वरू भवन सम्पन्न भएरपनि पार्टीलाई झण्डै ६५ लाख रूपैयाँ बराबरको रकम जगेडा रहेको जानकारी दिनुभएको थियो । उहाँले उक्त रकम ४० लाख पार्टी संचालन अकयकोष र २५ लाख कार्यकर्ता विपद तथा कल्याणकारी कोषमा जम्मा गरिने समेत वताउनु भएको थियो । नेता जोशीले काँग्रेसको एकताकालागि आफूले जस्तो सुकै त्याग गर्न पनि तयार रहेको कुरा दोहोर्याउँदै सबैलाई एक भएर अघि बढ्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सभापति खिमप्रसाद भुसालले आफ्नो पूर्व प्रतिबद्धता अनुसार वीपी स्मृति भवन निर्माण भएकोमा खुसी व्यक्त गर्दै अब पार्टीलाई पर्वत जिल्लाको पहिलो पार्टी बनाउने अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभएको थियो । भवन उद्घाटन कार्यक्रमको सञ्चालन कुश्मा नगरपालिकाका सूचना अधिकृत राजीव रिमालले गरेका थिए ।

भवन निर्माण गर्न कुल १ करोड ४७ लाख खर्च भएको हो । भवन निर्माण समितिका संयोजक समेत रहेका जोशीले दिएको जानाकारी अनुसार कुल २ करोड १३ लाखका स्टिमेण्ट रकम मध्ये १ करोड ४७ लाख रकममा भवनको निर्माण कार्य सम्पन्न भएको हो । भवन निर्माणको लागि विभिन्न संघ सस्था, ब्यक्ति तथा शुभेच्छुकसंग रकम संकलन गरिएको थियो । २०६६ साल कार्तिक ११ गते निर्माण कार्य शुरु भएको उक्त भवन १२ बर्ष पछि निर्माण सम्पन्न भएको हो ।