पर्यटन मन्त्री शर्मालाई जलजला गाउँपालिकामा स्वागत

248

पर्वत/गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मालाई आइतवार जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्लले स्वागत गर्नुभएको छ । मन्त्रीको स्वागत गर्दै अध्यक्ष मल्लले जलजला गाउँपालिका पर्या पर्यटन, धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेकोले यसको विकासको लागि प्रदेश सरकारले उच्च प्राथमिकता दिनुपर्ने माग राख्नु भएको थियो । अध्यक्ष मल्लले हम्पाल र कालञ्जर क्षेत्र धार्मिक पर्यटनका दृष्टिकोणले समेत अति महत्वपूर्ण रहेकोले हिन्दु धर्ममा विश्वास राख्ने संसारका धार्मिक पर्यटकको आकर्षणको केन्द्रका रूपमा विकास गर्न सके जलजलाको आर्थिक समृद्धि बढ्ने जानकारी गराउनुभएको थियो ।

स्वागत पछि बोल्दै पर्यटन, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले जलजलाको पर्यटन र उद्योग विकासका लागि मन्त्रालयको तर्फबाट विशेष प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले गाउँपालिकाको विकास र समृद्धिका लागि अध्यक्षले खेलेको रचनात्मक कामको प्रशंसा समेत गर्नुभएको थियो । सो अवसरमा जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्री र विभिन्न वडाका वडाअध्यक्षहरूको समेत सहभागिता रहेको थियो ।