‘साथीलाई सहयोग गर्न साक्षी बसेँ, उल्टो मैमाथि मुद्दा लगाइयो’-काँग्रेस युवा नेता मल्ल

843

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले साथीभाईको सहयोगको लागि साक्षी बसेकै आधारमा लेनदेन मुद्दा दर्ता गरि कास्की जिल्ला अदालतबाट गरिएको फैसला र केही अनलाइन सञ्चारमाध्यममा आएका समाचारले आफूमाथि घोर अन्याय भएको वताउनुभएको छ । उहाँले आफूले सामाजिक र राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको डाह गर्नेहरूले नियोजित रूपमा फसाउन खोजेको आरोप समेत लगाउनु भएको छ ।

अध्यक्ष मल्लले वास्तवमै लेनदेनको विषयमा सत्संगत र साथीभाइहरुलाई अफ्ठ्यारो परेको बेला साक्षी जमानी बस्ने कुरा पिता पुर्खाकै पालादेखि चलिआएको र आफूपनि १०/१२ बर्ष पहिले धौलागिरि अञ्चल यातायात बस व्यवसायी समितिको सदस्य भएको बेला बाग्लुङ जिल्ला निवासी राजेश बोहराले खरिद गरेको फोर्स कम्पनीको मिनी बसको साक्षी बसेको वताउँदै त्यही साक्षीको आधारमा आफूमाथि मुद्दा दर्ता भएको जानकारी दिनुभएको छ ।’साक्षी बसेर गरेको लेनदेन व्यवहार यति लामो समयसम्म मिल्यो वा मिलेन भन्ने कुरा फड्केकिनारमा साक्षी बस्नेलाई थाह हुने कुरा पनि भएन, म पनि यो बीचमा विभिन्न सामाजिक तथा राजनीतिक कामको उल्झनले गर्दा त्यतापट्टि ध्यान दिन पनि पाइन । तर पछिल्लो समय मलाई दोषी करार दिएर जिल्ला अदालतले जुन फैसला गरेको छ त्यो फैसलाले मलाई नै आश्चर्यमा पारेको छ ।’- अध्यक्ष मल्लले भन्नुभयो । उहाँले आफूविरुद्ध परेको मुद्दाको आफूलाई नै कुनै जानकारी समेत नभएको दावी गर्नुभएको छ । ‘प्राकृतिक न्यायको सिद्धान्त अनुसार मैले उक्त मुद्धाको प्रतिउत्तर समेत लगाउन पाइन, यो बिषयले मलाई निकै दुखित बनाएको छ ।’- मल्लले भन्नुभयो । वास्तवमा त्यो बसको फाइनान्स नबिल बैंकले गरेको र बसपनि मल्लको नाममा नभइ हिमालयन इन्भेस्टमेन्ट नामक अटोमोबाइल कम्पनीकै नाममा रहेको समेत पाइएको छ ।

अध्यक्ष मल्लले आफूले अहिलेसम्म कसैलाई एक रुपैयाँ पनि नठगेको बताउँदै २०६८ सालमा राजेश बोहराले फोर्स गाडी निकाल्दा जवानी बसिदिएको र बोहराले पैसा तिर्न नसकेपछि आफैले तिरिदिएको बताउनु भयो । २०६८ साल कात्तिक १४ गते आफू जमानी बसिदिएको र तिर्नुपर्ने रकम १० लाख १७ हजार ९५ रुपैयाँ रहेपनि आफूले १९ लाख रूपैयाँ तिरिदिएको वताउनु भएको छ । ‘किनेको मान्छेले तिर्न नसकेपछि कानुन अनुसार जमानी बसेको मान्छेले तिर्नुपर्ने हुन्छ । मैले पैसा तिरिदिएको छु ।’- मल्लले भन्नुभयो ।

उता हिमालयन अटो मोवाइलका प्रोप्राइटर तथा वादी ध्रुव बहादुर थापाले आफूले पाउनुपर्ने रकम सबै पाएपछि अदालतमा पुगेर पैसा बुझिलिएको कागज गरिसकेको र यो मुद्दा टुङ्गिइसकेको बताए । ‘मल्लले पनि साथीको लागि गाडी निकालिदिएका हुन्, उनी आफैले लगेका पनि होइनन् तर जमानी बसेका कारण यो अवस्था आएको हो । साथीका लागि जमानी बसेकाले उनलाई तनाब मात्र भयो’ थापाले भने, ‘गाडी किनेको मान्छेले पहिले नै तिरेको भए यो अवस्था आउने थिएन । यो मुद्दाका सबै प्रक्रियाहरू डिसमिस भएका छन् । मैले पैसा पाउनु पर्ने थियो पाएँ, अब यो मुद्दा सकियो ।’

नेपाली काँग्रेस पर्वतको कोषाध्यक्ष समेत रहेका मल्लले आगामी १४ औँ अधिवेशनआफू जिल्ला सभापतिमा लड्ने तयारी गरेकोले आफूलाई यसबाट विफल पार्नका लागि यो अदालती प्रक्रिया अपनाइएको उहाँको तर्क छ । ‘राजनीतिक रूपमा यो मुद्दा उठाइएको छ । पार्टीको सभापतिको बलियो दाबेदार आफू पनि रहेका कारण त्यसैलाई विफल पार्न खेलेको देखिन्छ । पहिले त्यो बारेमा थाहा भएको भए त तिरिदिन्थेँ’ मल्लले भन्नुभयो -‘मैले कसैको एक रुपैयाँ ठगेको र खाएको छैन, यो १० लाख तिर्नु पनि मेरोलागि ठुलो कुरा थिएन । उनीहरूले समयमा नै मलाई भनेको भए तिरिन्थ्यो । तर कसरी हुन्छ मेरो बदनाम गराउने उद्देश्यले अदालती प्रक्रियामा गएजस्तो लाग्यो ।’- उहाँले भन्नुभयो । कास्की जिल्ला अदालतले पनि यो मुद्दामा आजै सफाई समेत दिएको छ ।
यसै विषयमा अध्यक्ष मल्लले जारी गरेको अपिलको पूर्ण पाठ यस्तो छ ।
हार्दिक अपिल !
———————-
आदरणीय शुभचिन्तक दाजुभाई तथा दिदीबहिनीहरु !
कास्की जिल्ला सम्माननिय अदालतको ले आज गरेको फैसलाको समान गर्दै। तर केही अनलाइन सञ्चारमाध्यममा आएका समाचारबाट मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो जीवनको लामो सङ्घर्षसँगै मैले समाजमा गरेको त्याग र मानवीय संकटमा पुर्याएको योगदानको प्रत्यक्ष साक्षी स्वयं तपाईंहरूनै हुनुहुन्छ । जीवनमा कतिपय घटनाहरू अनपेक्षित रूपमा घट्दारहेछन् भन्ने मेरो जीवनको यो पनि एउटा ज्वलन्त उदाहरण हो । पुर्खाहरूले भन्थे – ‘नखाएको विष लाग्दैन’ तर अपवादमा कहिले काहीँ नखाएको विष पनि लाग्दोरहेछ भन्ने कुराको वोध यतिखेर मलाई भइरहेको छ ।

वास्तवमै लेनदेनको विषयमा सत्संगत र साथीभाइहरुलाई अफ्ठ्यारो परेको बेला साक्षी जमानी बस्ने कुरा पिता पुर्खाकै पालादेखि चलिआएको विषय हो । १० /१२ बर्ष पहिले मपनि धौलागिरि अञ्चल यातायात बस व्यवसायी समितिको सदस्य समेत भएको बेला देखि नै आज सम्म आएर २/३ सय जना लाई यस्तै सयोग गर्दै आएको छु। बाग्लुङ जिल्ला निवासी राजेश बोहराले खरिद गरेको फोर्स कम्पनीको मिनी बसको म साक्षी एबम धनजमानी बसेको थिएँ । जमानी बसेर गरेको लेनदेन व्यवहार यति लामो समयसम्म मिल्यो वा मिलेन भन्ने कुरा फड्केकिनारमा साक्षी बस्नेलाई थाह हुने कुरा पनि भएन । म पनि यो बीचमा विभिन्न सामाजिक तथा राजनीतिक कामको उल्झनले गर्दा त्यतापट्टि ध्यान दिन पनि पाइन । तर पछिल्लो समय मलाई दोषी करार दिएर सम्मानित जिल्ला अदालतले जुन फैसला गरेको छ त्यो फैसलाले मलाई नै आश्चर्यमा पारेको छु। पहिलो कुरा त आफूविरुद्ध मुद्धा परेको मलाई जानकारी समेत भएन ।प्राकृतिक न्यायको सिद्धान्त अनुसार मैले उक्त मुद्धाको प्रतिउत्तर समेत लगाउन पाइन यो बिषयले मलाई निकै दुखित बनाएको छ । लेनदेन मुद्दामा भनि जिल्ला अदालत कास्कीले चैत २७ गते मलाई जुन सजाय सुनाएको छ । वास्तवमा त्यो बसको फाइनान्स नबिल बैंकले गरेको छ । त्यो बस पनि मेरो नाममा छैन । बस हिमालयन निन्नोभेन्ट प्रालि र बाग्लुङका राजेश बोहराको नाममा छ । सोही कम्पनीले नै बसलाई तानेर राखेको छ ।
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु ! दशवर्ष अगाडि साथीभाईको भलाईको निम्ति बसेको जमानीको आधारमा मलाई कुनै जानकारी समेत नदिई नियोजित रुपमा म विरूद्ध जुन मुद्दा दर्ता गरियो त्यसले मेरो सामाजिक तथा राजनीतिक प्रतिष्ठामा धक्का लगाउन खोजियो। तर जमानी बसेवापत मैले दिनुपर्ने १९ लाख रुपियाँ मैले भुक्तानी समेत गरिदिएको छु । मैले सामाजिक र राजनीतिक क्षेत्रमा पुर्याएको योगदानबाट विचलित भएर पार्टीको १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा ममाथि सुनियोजित ढंगबाट जुन कृत्यहरू रचना गरिएको छ समयले त्यस्ता पात्र र प्रवृत्तिको परिचय अवस्यनै दिनेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु । साथै सुनियोजित रूपमा भएका र अबपनि हुनसक्ने षडयन्त्र र भ्रामक हल्लाको पछि नलाग्न मेरा सबै शुभचिन्तक आम दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछु ।
जय नेपाल ! प्रमाण पनि भेटियो गाडि पोखरा नै रहेछ।
यामबहादुर मल्ल (रामकृष्ण)
अध्यक्ष जलजला गाउँपालिका
एवं कोषाध्यक्ष
नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वत