पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका संयोजक अर्जुनप्रसाद जोशीले पर्वत काँग्रेसको एकता र सांगठानिक सुदृढीकरणका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको वताउनु भएको छ । काँग्रेस नेता जोशीले पूर्व प्रधानमन्त्री एबम् नेपाली कांग्रेसका पुर्व सभापति स्वर्गिय गिरिजाप्रसाद कोईरालाको ९८ औ जन्मजयन्ती मनाउने क्रममा शुक्रबार जिल्लास्थित पार्टीका विभिन्न तहका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो । उहाँले काँग्रेस १४ औं महाधिवेशनको सङ्घारमा रहेको उल्लेख गर्दै यो अधिवेशनबाट पर्वत काँग्रेस भावनात्मक रूपले एक भएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । ‘विगतमा हाम्रो वीचमा केही समस्याहरू रहेहोलान् त्यसले चुनावमा अपेक्षित परिणाम आउन सकेन, तर अब काँग्रेसलाई गुटबन्दी गरेर संगठन बन्दैन, सबै साथीहरू भावनात्मक रूपले एक भएर अघि बढौँ, म के त्याग गर्नुपर्छ तयार छु ।’- नेता जोशीले भन्नुभयो । उहाँले गिरिजाप्रसाद कोइराला नेपालको राजनीतिक इतिहासमा एक कुशल र सर्वस्वीकार्य नेता रहेको बताउँदै कोईरालाको योग्यता र आदर्श अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।
दशवर्षे युद्धलाई शान्तिमा रुपान्तरण गर्न र देशलाई अप्ठयारो अवस्थाबाट पार लगाउन गिरीजाबाबुले भूमिका खेलेको जोशीले स्मरण गर्नुभयो । गिरिजाप्रसाद कोईराला निडर, साहसी, लोकतन्त्रप्रति संधै प्रतिबद्ध भएका कारण माओबादी शान्ति प्रक्रियामा आउन बाध्य भएको र राजा फालेर देशमा गणतन्त्र आएको जोशीले बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवं संघीय संसदका सदस्य लालकाजी गुरुङले पार्टीभित्रको समस्यालाई समाधान गर्न आफुपनि प्रतिबद्ध रहेको बताउनुभएको थियो भने जिल्ला सभापती खिमप्रसाद भुसालले वीपी स्मृति भवनको निर्माणसँगै पर्वत काँग्रेस भौतिक रूपले सम्पन्न भएको दावी गर्दै अब नेता तथा कार्कर्ताहरु बीच एकताको आवस्यकता रहेको र आसन्न १४ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन सबैले भूमिका खेल्नुपर्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रम सचिव अशोक उचै ठकुरीले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरू, भातृ तथा सुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।







