फलेवास नगरपालिकाद्वारा ८५ करोड ३० लाखको बजेट सार्वजनिक

पर्वत/फलेवास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि रु.८५ करोड ३० लाख ४० हजार बराबरको बजेट सार्वजनिक गरेको छ । फलेवास नगरपालिकाले बुधवार नीति तथा कार्यक्रम र बजेट एकैदिनमा सार्वजनिक गरेको हो । नगरसभामा नीति तथा कार्यक्रम पास गरेर वुधवार नै बजेट सार्वजनिक गरिएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो । फलेवासनमा चालु तर्फ रु. ३० करोड ६८ लाख, पूँजीगत तर्फ ३९ करोड ३२ लाख र समाजिक सुरक्षा तर्फ रु.१५ करोड २९ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको शर्माले बताउनुभयो ।

नगरपालिकाको बजेट नीति तथा कार्यक्रममा कोभिड १९ प्रकोप व्यवस्थापन, विपन्नको आयआर्जन र स्वरोजगार, कृषि, पर्यटन, पूर्वाधार विकास, उर्जाको विकासमा जोड दिईएको छ । नगरपालिकाको बजेटमा बिगत वर्षहरुमा शुरु गरेका र कल्पना गरिएका विकासका आयोजनाहरु सम्पन्न गर्न जोड दिईएको छ । क्रमागत योजनाको निरन्तरतालाई बजेटमा समेटिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । नीति तथा कार्यक्रम सभाबाट पारित गरि राजस्व परामर्श समितिका संयोजक एबं उपप्रमुख मञ्जु अधिकारीले बजेट प्रस्तुत गर्नुभएको थियो ।

कुश्मा नगरपालिकाले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । कुश्माले आज बजेट उपर दफावार छलफल गरि तयारी पुरा गरेको छ । उता महाशिला, मोदी, विहादी गाउँपालिका र पैयुँ गाउँपालिकाले विहिवार नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेका छन् ।