काँग्रेसको स्थानीय तह समन्वय विभागले आफ्ना पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण दिने

110

काठमाडौ/नेपाली काँग्रेस स्थानीय तह समन्वय विभागले एक दिने प्रशिक्षण सञ्चालन गर्ने भएको छ । विभाग गठन भएपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालय बिपि स्मृति भवन ललितपुरमा विभागका केन्द्रीय प्रमुख एवम् केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले विभागका सदस्यहरुबिच आफ्नो कार्यक्षेत्र, गर्नुपर्ने काम, पार्टीलाई मजबुत पार्नका लागि स्थानीय तह समन्वय विभागले खेल्नुपर्ने भुमिकाका बारेमा यही फागुन ११ गते पार्टी केन्द्रीय कार्यालय भवनमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको विभाग प्रमुख एवम् नेपाली काँग्रेसका नेता जोशीले जानकारी दिनुभयो । ‘विभागमा बस्नेहरु पनि सम्बन्धित बिषयमा ज्ञान नहुन सक्छ, सबै सदस्यहरुको भावनाअनुसार फागुन ११ गते विभागको कार्यक्षेत्र, विभागले खेल्नुपर्ने भुमिका, काम र पार्टीलाई मजबुत पार्नका लागि स्थानीय तह समन्वय विभागको दायित्व र जिम्मेबारी सम्बन्धमा विभागका सदस्यहरुलाई सम्बन्धित क्षेत्रका विज्ञहरुलाई बोलाएर प्रशिक्षण दिने निर्णय गरेका छौ’ नेपाली काँग्रेसका नेता एवम स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीले भन्नुभयो । बैठकमा सातवटै प्रदेशबाट सहभागी भएका सदस्यहरु र विभागका सचिव नहकुल केसीलाई विभाग प्रमुख जोशीले मनोनयनपत्र प्रदान गर्नुभएको थियो ।

विभागले यसअघि भर्चुअल रुपमा बैठक सञ्चालन गर्दै आएको थियो । प्रत्यक्ष उपस्थित भएर आयोजना गरेको यो बैठक पहिलो हो । बैठकमा अघिल्ला भर्चुअल बैठकको प्रगति समिक्षा, विभिन्न प्रदेशस्तरीय समन्वपय बैठकका बारेमा छलफल भएको थियो । विभागमा हाल प्रमुख जोशीसहित ४१ जना सदस्यहरु रहेका छन् । बैठकको सञ्चालन विभागका सचिव नहकुल केसीले गरेका थिए ।