कम्युनिस्टहरूको भ्रममा पर्दा मुलुक र लोकतन्त्रमाथि खतरा उत्पन्न भएको काँग्रेस युवा नेता गुरुङको दाबी

101

पर्वत/नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष एव नेपाली काँग्रेसका युवा नेता विद्वान गुरूङले जनताहरू कम्युनिष्टहरूको भ्रममा पर्दा मुलुक र लोकतन्त्रमाथि नै संकट उत्पन्न भएको वताउनु भएको छ । केपी ओली सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नेपाली कांग्रेसले आयोजना गरेको वडास्तरीय विरोध प्रदर्शनको क्रममा विहिवार कुश्मा नगरपालिका वडा नं-१ पाङको कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका युवा नेता गुरुङले उक्त कुरा वताउनु भएको हो । उहाँले चुनावअघि डाँडाकाँडामा रेल ल्याउने,घरघरमा ग्याँसको पाइप जोड्ने, युवाहरूलाई रोजगार दिने र किसानलाई ऋण दिने नेकपाको झुट्टा आश्वासनको पछि लागेर जनताले कम्युनिष्टहरुलाई झण्डै दुईतिहाइ जनमत दिएको भएपनि कम्युनिष्ट सरकारले ३ बर्षसम्म जनतालाई राहत दिनुको सट्टा भ्रष्टाचार र अपराधलाई संस्थागत गरेको र देशमा सर्वसत्तावाद लादेको आरोप लगाउनु भएको थियो ।

काँग्रेस नेता गुरुङले जबजब देशमा संकट आउँछ र लोकतन्त्रमाथि खतरा बढ्छ त्यतिबेला नेपाली कांग्रेस आन्दोलनको मैदानमा उत्रने गरेको वताउँदै यसपालि पनि ओलि सरकारले बीचैमा संसद् विघटन गरेर लोकतन्त्र र संविधानमाथि आक्रमण गर्न खोजेकोले संविधानको रक्षाको खातिर काँग्रेसले देशव्यापी रूपमा आन्दोलनको घोषणा गरेर अगाडि बढेको दाबी गर्नुभयो । नेता गुरुङले काँग्रेसले शुरु गरेको आन्दोलन एउटा निष्कर्षमा नपुगुन्जेल यो अभियानमा सहभागी हुन सबै जनसमुदायलाई आग्रह गर्नुभएको थियो । एक अर्को प्रसंगमा बोल्दै नेता गुरुङले पाङ सहिदहरूको रक्तरञ्जित भूमि भएपनि त्यो माटोकाप्रति पार्टीले उचित न्याय गर्न नसकेको स्वीकार गर्दै आगामी दिनमा पाङ्बासीको सपनालाई साकार पार्न आफ्नो तर्फबाट यथासक्य पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष एवं रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल, पूर्व गाविस अध्यक्ष हेम शर्मा पौडेल, नेपाल विद्यार्थी संघ पर्वतका जिल्ला उपाध्यक्ष किशोर सुवेदी, नेपाली काँग्रेसका पूर्व सचिव पण्डित नारायणप्रसाद उपाध्याय, नगरसमिति सदस्य द्रौपदी रिजाभल, वडा सदस्य विमला शर्मा, समाजसेवी गोपालप्रसाद रिजाल, नेपाली काँग्रेसका सहसचिव कृष्णप्रसाद रिजाल लगायतले बोल्नुभएको थियो ।

नेपाली काँग्रेस पाङ्का सभापति खगराज पौडेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन इश्वरीप्रसाद सुवेदीले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य भूपू गाविस उपाध्यक्ष पिताम्बर रिजालले गर्नुभएको थियो । कार्यक्रममा नेकपा परित्याग गरि तीन दर्जन भन्दा बढी व्यक्तिहरू नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई काँग्रेसका युवा नेता गुरुङले सदस्यता प्रदान गर्नुभएको थियो ।