विभिन्न निर्णयहरू गर्दै जलजला गाउँपालिकाको नवौँ गाउँसभा सम्पन्न

78

पर्वत/जलजला गाउँपालिकाले गाउँपालिकाको भवन निर्माणका लागि जग्गा खरिद गर्ने निर्णय गरेको छ । जलजला गाउँपालिकाको आईतवार सम्पन्न नवौँ गाउँसभाले जलजला गाँउपालिकाको प्रशासनिक भवन निर्माणका लागि हाल भाडामा रहेको भवन भन्दा करीव एकसय५० मिटर माथि करिव १२ रोपनी जग्गा खरिद गर्ने निणर्य गरेको हो । प्रशासनिक भवन निर्माणका लागी जग्गा प्राप्त गर्न कार्यपालिका वैठकले अध्यक्ष यामबहादुर मल्ललाई जिम्मा दिएको थियो । सोही अनुरुप करिव ९ रोपनी जग्गा खरिद गर्ने र ३ रोपनी जग्गा निशुल्क प्राप्त गर्ने गरी जग्गा प्राप्तीको प्रक्रिया अगाडी वढाउने गाँउसभाले सर्वसम्मत निणर्य गरेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो ।

आइतवारकै गाउँसभाले गाउँपालिकाभित्रका विभिन्न सडकहरूको स्तरोन्नतिका लागि बजेट विनियोजन गर्ने निर्णय समेत गरेको छ । जसमा मिलनचोक-रात्माटा- शालिजा सडकको लागि ३० लाख रूपैयाँ, मल्लाज-फलामेडाँडा-डाँडाकटेरी-वनवडे सडकको लागि ३० लाख, मल्लाज-बाँसखर्क-मलगाउँ-फलामेडाँडा सडकको लागि ३० लाख रूपैयाँ, लस्ती- बनौ ट्र्याक ओपनको लागि २० लाख र वारिबेनी बसपार्क ढलानको लागि २५ लाख रूपैयाँ विनियोजन गरेको अध्यक्ष मल्लले वताउनु भयो ।

त्यसैगरी गाउँसभाले घरनक्सा अभिलेखीकरणका लागि राजश्वका दरमा केही परिवर्तन गर्ने र घर नक्सा पासका लागि गाँउपालिका भित्रका विभिन्न सडकमा मापदण्ड परिवर्तन गर्ने, आगामी शैक्षिक शत्रदेखी गाँउपालिकाका सामुदायिक विद्यालयहरु मर्ज गर्दै जाने, गाँउपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्नका लागी प्रक्रिया अगाडी वढाउने निणर्य समेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी विभिन्न योजना तथा कार्यक्रमहरु रकमान्तर तथा संसोधन गर्ने र विभिन्न योजना तथा कार्यक्रम फरफारक तथा अनुमोदन गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।