पुस २५ गतेदेखि शुरू हुन लागेको आन्दोलनमा सशक्त सहभागिताका लागि तरूण दलको अपिल

35

पर्वत/नेपाली काँग्रेसले पुस २५ गतेदेखि सुरु गर्न लागेको देशव्यापी आन्दोलनमा नेपाल तरुण दलको सशक्त भूमिका रहने देखिएको छ । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेतले एक विज्ञप्ती जारी गर्दै आन्दोलनलाई पूर्ण रुपमा सफल पार्न सबै जिल्ला अन्तर्गतका सबै तह, तप्का र निकायहरुका तरुणहरुलाई सहभागी हुनको लागि निर्देशन गरिसकेका छन् ।

विज्ञप्तीमा पुष २५ देखि माघ ८ गते सम्म हुने आन्दोलनमा तरुणहरुको पूर्ण सहभागिता हुने र आन्दोलनलाई देशभर सफल पार्ने समेत प्रष्ट पारिएको छ । यस्तै मिडिया संग कुरा गर्दै अध्यक्ष बस्नेतले के.पी ओलीको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम साथै कोभिड-१९ मा सरकारको लापरवाहीको बिषयलाई लिएर यो आन्दोलन हुन लागेको र यसमा तरुण दलले पूर्ण रुपमा शक्ति प्रदर्शन गर्ने समेत उनले बताएका छन् ।

सरकारको अनैतिक कदमको विरुद्धमा नेपाली काँग्रेसले गरेका आन्दोलनहरुमा तरुण दलको अग्र भूमिका रहेको देखिदै आईरहेको छ । यसपटक पनि देशभरका तरुणहरु एकजुट भएर सडकमा उत्रने सम्भावना देखिन्छ । प्रेस विज्ञप्तीमा जानकारी दिए अनुसार काँग्रेसले पुस २५ गते शनिबारका दिन ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा, माघ ३ गते शनिबारका दिन देशैभरका ७५३ पालिकाहरुमा र माघ ८ गते बिहीबारका दिन देशैभरका ७५३ पालिकाहरुका ६,७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने भएको छ ।