स्वर्गीय खड्कबहादुर मल्लप्रति काँग्रेस नेताहरूद्वारा श्रद्धाञ्जली व्यक्त

133

पर्वत/मोदी गाउँपालिका वडा नं ५ निवासी नेपाली काँग्रेसका क्रियाशील सदस्य खड्कबहादुर मल्लको स्वर्गारोहण भएको १३ औं दिनको पूण्यतिथिको अवसरमा नेपाली काँग्रेस बाजुङले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

शोकसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसालले स्वर्गीय मल्लले नेपाली काँग्रेसको सांगठनिक अभियान र आन्दोलनमा पुर्याएको योगदानलाई पार्टीले गम्भीर रुपमा लिएको वताउँदै स्वर्गीय मल्लले समाज परिवर्तनको लागि खेलेको भूमिकालाई आत्मसात गरेर अगाडी बढ्न सबै बाजुङबासीहरूमा आग्रह गर्नुभएको थियो । सभापति भुसालले लोकतन्त्र र नागरिक अधिकारको रक्षाको लागि मुलुकमा एकपटक फेरि कांग्रेसको नेतृत्व अपरिहार्य आवस्यक भएको वताउँदै पछिल्लो पटक संसद विघटन गरेर ओली सरकारले लोकतन्त्र र जनताको अभिमतमाथि अपमान गरेको दाबी गर्नुभएको थियो ।

शोकसभामा बोल्दै नेपाली कांग्रेसका युवा नेता एवं नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले स्वर्गीय खड्कबहादुर मल्लको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको वताउँदै स्वर्गीय मल्लले नेपाली काँग्रेसको राजनीतिक जीवनमा पुर्याउनुभएको योगदानलाई पार्टीले सँधै स्मरण गर्ने जानकारी दिनुभएको थियो । युवा नेता गुरुङले मृत्यु मानवजीवनको शाश्वत सत्य भएको वताउँदै शोकलाई शक्तिमा बदलेर अघि बढ्न समस्त मल्ल परिवारलाई आग्रह गर्नुभएको थियो । तरुण नेता गुरुङले कम्युनिष्ट सरकारले हिन्दु धर्ममाथि नियोजित आक्रमण गरिरहेको दावी गर्दै धर्म र संस्कृतिको संरक्षणका लागि पनि अब मुलुकमा नेपाली काँग्रेसको नेतृत्वको आवश्यकता रहेको बताउनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सचिव अशोक उचै ठकुरीले जन्मेपछि मृत्यु सबैको अवस्यंभावी भएकोले बाँचुन्जेल समाजको हितमा असल कर्म गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । सोही कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य डाक्टर चूडामणि शर्मा, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक शिब शर्मा अधिकारी, नेपाल महिला संघ पर्वतका कोषाध्यक्ष विष्णुकुमारी गौडेल र नेपाल तरूण दल कुश्मा नगरपालिकाका अध्यक्ष सुवर्ण अर्याल लगायतले समवेदना प्रकट गर्नुभएको थियो । सोहीषकार्यक्रममा स्वर्गिय खड्कबहादुर मल्लले पुर्याएको सामाजिक योगदानको वारेमा नेपाली काँग्रेसका जिल्ला सदस्य रामबहादुर प्रसाईले जानकारी गराउनु भएको थियो ।

नेपाली काँग्रेसका वडा सभापति मानबहादुर अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन पार्टी सचिव खड्गबहादुर क्षेत्रीले गर्नुभएको थियो । स्वर्गीय मल्ल नेपाल तरूण दल पर्वतका बरिष्ठ उपाध्यक्ष एवं नेपाली काँग्रेसका क्षेत्रीय सदस्य हेमन्त मल्ल, रामबहादुर मल्ल र लक्ष्मण मल्लका पिता हुनुहुन्छ ।