पर्वत/लामो समयदेखि शिक्षण सेवा गरि सेवा निवृत्त हुनुभएका समाजकल्याण प्राथमिक बिद्यालय जलजला- २ का शिक्षक ओमबहादुर जिसीलाई शुक्रबार एक कार्यक्रमका बीच स-सम्मान विदाई गरिएको छ ।
जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले सेवा निवृत्त शिक्षक जिसीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले शिक्षक शिक्षक जिसीले शैक्षणिक विकासमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्नुभएको थियो । उहाँले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि जलजला गाउँपालिकाले शिक्षामा ठूलो लगानी गरेको जानकारी दिँदै अन्तर्राष्ट्रिय बजारमा विक्ने खालको प्राविधिक र व्यवसायिक शिक्षाको विकासमा अग्रसर हुन सबै शिक्षक, अभिभावक र अन्य सरोकारवालाहरूलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले सामुदायिक विद्यालयमा अभिभावकको विश्वास बढाएर मात्रै विद्यार्थीहरूलाई आकर्षित गर्न सकिने वताउनु भएको थियो । शर्माले लगानी अनुसारको प्रतिफल दिन शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक समन्वय आवश्यक रहेको भन्दै त्यसकालागि विद्यालय प्रशासनले उपयुक्त वातावरण बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।
सोही कार्यक्रममा जलजला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष गोविन्द खत्रीले शिक्षा क्षेत्रको सुधार नगरेसम्म समाज र राष्ट्रको विकास सम्भव नभएको भन्दै शिक्षाको व्यवसायिकरणका लागि सबैको सहयोग र सहकार्य जरूरी रहेको दाबी गर्नुभएको थियो ।
कार्यक्रममा निवृत शिक्षक ओमबहादुर जिसीले आफू सेवा निवृत्त भएपनि विद्यालयको शैक्षिक उन्नयनका लागि आफ्नो दायित्व र जिम्मेवारी निरन्तर रहिरहने वताउँदै शैक्षिक जीवनमा समुदायले गरेको सहयोग अनुकरणीय रहेको धारणा राख्नु भएको थियो ।