पर्वत/नेकपा सरकारले देशमा सुशासन र समृद्धि दिनुको सट्टा भ्रष्टाचार र कमिशनको खेलमा संलग्न भएको र दिनप्रतिदिन आन्तरिक किचलोमा फस्दै गएको भन्दै उही पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू र सक्रिय कार्यकर्ताहरूले नेकपा परित्याग गर्ने लहर चलेको छ ।
जलजला-६ शालिजाबाट गत स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडा सदस्य मायादेवी रेग्मी र नेकपाका सक्रिय सदस्यहरु केदारनाथ भुसाल र मनका भुसालले आइतबार नेकपा पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशी र नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले नेपाली कांग्रेस पार्टीको सदस्यता प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले गत निर्वाचनमा नेकपाका नेताहरूले जनतामा बाँडेको झुटो आश्वासन र उधारा सपनाहरू तीनबर्ष पनि टिक्न नसकेको वताउनु भएको थियो । नेता जोशीले आफू जनप्रतिनिधि हुँदा जनताको घरदैलोमा सडक, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य र सिंचाई लगायत विकासका थुप्रै पूर्वाधारहरू पुर्याउँदा पनि अर्जुन जोशीले केही गरेन भनेर हिँड्नेहरू चुनाव जितेको तीनबर्षमै जनताको नजरबाट गिरेको टिप्पणी गर्नुभएको थियो । -‘अर्जुन जोशीले केही गरेन भनेर भनेर चुनाव जितेकाहरूले मैबाट शुरू भएका विकास आयोजनाको बजेट कटाएर जनतामाथि अन्याय गरेका छन्, उनीहरूको नक्कली कुराको केही बर्षमै पर्दाफास भयो ।’- केन्द्रीय सदस्य जोशीले भन्नुभयो । उहाँले कम्युनिष्टहरूबाट सुशासन र समृद्धि सम्भव नभएको भन्दै जनताहरु काँग्रेसकाप्रति आकर्षित हुँदै गएको दाबी गर्दै नेकपा छोड्ने र काँग्रेस प्रवेश गर्ने लहर त्यसैको दृष्टान्त भएको वताउनु भएको थियो ।
नेता जोशीले काँग्रेस भएका कारण कसैले पनि हिनताबोध गर्नुनपर्ने वताउँदै पर्वतका सबै काँग्रेस कार्यकर्ताको मनोबल उठ्नेगरि संगठन सुदृढिकरण गर्न आफू लागिरहेको जानकारी गराउनु भएको थियो ।
सोही कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले आफू जनप्रतिनिधिका रूपमा निर्बाचित भएदेखिनै आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर जनताको समस्याका प्रति समर्पित भएर काम गरेकोले जलजलामा नेकपाबाट हजारौं कार्यकर्ताहरू काँग्रेसमा प्रवेश गरेको दाबी गर्नुभयो । अध्यक्ष मल्लले केन्द्र र प्रदेश सरकार नेकपाको कब्जामा भएर पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको कारण कार्यकर्तामा निरासा बढ्दै गएको दाबी गर्दै नेकपा सरकारको स्वेच्छाचारी र सर्वसत्तावादी चरित्रका कारण उनीहरूबाट निर्बाचित जनप्रतिनिधिहरूले समेत पार्टी परित्याग गर्ने अवस्था आएको वताउनु भएको थियो । काँग्रेसका युवा नेता समेत रहेका मल्लले जलजलाका सबै जनताको घरदैलोमा पुगेर उनीहरुको समस्या बुझि त्यो समस्या समाधान गर्न आफू सँधै प्रतिबद्ध रहेको वताउँदै हरेक अफ्ठ्यारो परिस्थितिमा आफूलाई सम्झिन गाउँपालिकाबासीमा आग्रह गर्नुभएको थियो । उक्त कार्यक्रम नेपाली कांग्रेस शालिजाका वडा सभापति बलबहादुर पुनको सभापतित्वमा सम्पन्न भएको थियो ।