कुश्मा नगरपालिका वडा नं ५ मा अब अनलाईनबाटै घटना दर्ता

पर्वत/वडाअध्यक्षमा आफू निर्वाचित भएदेखिनै विभिन्न रचनात्मक कामहरू गर्दै आएकी कुश्मा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष चित्रकला शर्माले वडाकार्यालयबाट औपचारिक रुपमा अनलाइन घटना दर्ता सुरूवात गर्नुभएको छ । कुश्मा नगरपालिकाले सबै वडामा अनलाईन घटना दर्ता बिस्तार गर्ने लक्ष्य लिए अनुरूप कुश्मा नगरपालिकाले वडा नम्बर ५ मा सेवा विस्तार गरेको जनाएको छ ।

कुश्मा नगरपालिकाका १४ वटा मध्ये हाल सम्म ७ वटा वडामा अनलाईन घटना दर्ता भएको छ । चालू आर्थिक बर्षमा सम्पुर्ण वडा बाट अनलाईन घट्ना दर्ता संचालन गर्ने लक्ष्य लिइएको छ । पहिलो अनलाईन घट्ना दर्ता हुनुहुने कुश्मा नगरपालिका वडा नं ५ का स्पन्दन श्रेष्ठ लाई कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले प्रमाणपत्र प्रदान गरेर औपचारिक रुपमा सेवा शुरु भएको घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख जोशीले अनलाईन मार्फत घटना दर्ता कार्यक्रम सुरुवात गरेकोमा वडा नं ५ कार्यालयलाई बधाई व्यक्त गर्दै समयको माग संगै प्रविधिको प्रयोगलाई आत्मसाथ गर्न सके मात्र वास्तविक विकासको अनुभूत गर्न सकिने धारणा व्यक्त गर्नुभयो । नागरिक मैत्री सेवाहरु प्रविधि मार्फत प्रवाह गर्न सके सुशासन प्रवद्धन हुने उहाँको विश्वास थियो ।

कार्यकमको उदेश्य माथि प्रकाश पार्दै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले सूचना प्रविधि नीतिले अबलम्बन गरेको नीति बमोजिम नागरिक लक्षित सेवाहरुलाई अनलाईन प्रविधि मार्फत प्रदान गरि शासन विकास र सेवा प्रवाहमा नागरिकको पंहुच सरल सहज र झन्झट मुक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

चालु आर्थिक वर्षमा कुश्मा नगरपालिकाका सबै वडाबाट अनलाईन घटना दर्ता सञ्चालन गरिने र यहि आर्थिक बर्ष बाट नगरपालिकाको बृहत डिजिटल नगर पोर्टल निर्माण गरि सम्पूर्ण विवरण एकीकृत र डिजिटल गर्ने गरि काम अगाडी बढाईएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष चित्रकला भारती शर्माले वडा कार्यलयका सेवाहरु प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कुश्मा नगरपालिकाका शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्री, सूचना प्रविधि अधिकृत राजीव रिमाल, सामाजिक विकास शाखाका देवी पौडेल, एमआईएस अपरेटर ज्यानिस शर्मा, देवेन्द्र अर्याल, घटना दर्ता फिल्ड असिस्टेण्ट जमुना सापकोटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव निलबहादुर भण्डारीले गर्नुभएको थियो ।