अध्यक्ष मल्लद्वारा शालिजामा निर्माण भएको आलुको विउ भण्डारण भवनको उद्घाटन

पर्वत/नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जलजला-६ शालिजामा निर्माण भएको आलुको विउ भण्डारण भवनको वुधवार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । कार्यक्रम उद्घाटन पछि बोल्दै अध्यक्ष मल्लले कृषिको उत्पादन र व्यवसायिकरण नभएसम्म मुलुकको आर्थिक समृद्धि सम्भव नभएको भन्दै जलजलाका विभिन्न वडाहरूलाई उत्पादन विशेष पकेट क्षेत्रका रूपमा पहिचान गरि सोही अनुसार विकास गर्ने रणनीति अख्तियार गरिएको जानकारी दिनुभएको थियो । अध्यक्ष मल्लले जलजला धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्व बोकेको क्षेत्र भएको वताउँदै फलफूल र तरकारीमा समेत यो भूमि मुलुककै अति विशिष्ट मौलिक पहिचान बोकेको क्षेत्र भएको दाबी गर्नुभएको थियो ।

अध्यक्ष मल्लले मुलुकमा भएको राजनीतिक परिवर्तनले मात्रै जनताको जीवनस्तर माथि उठ्न नसक्ने वताउँदै गाउँको आर्थिक सामाजिक रुपान्तरणका लागि सबै गाउँपालिकाबासीले कुनै न कुनै उत्पादन र उद्यम गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले समुदायको विकासको लागि राजनीतिक आग्रह पूर्वाग्रहबाट माथि उठेर सबैमा एकता र सहकार्यको जरुरी भएको वताउँदै व्यक्तिगत स्वार्थ त्यागेर सामुहिक स्वार्थमा क्रियाशील हुन सबै जलजलाबासीहरूमा आग्रह गर्नुभएको थियो । ‘राजनीति पाँचबर्षमा एकदिन गर्ने हो, अरू दिन एक भएर विकास र समृद्धिका लागि जुटौँ ।’ अध्यक्ष मल्लले भन्नुभयो ।

अध्यक्ष मल्लले स्थानीय सरकारलाई केन्द्रबाट अहिले जम्माजम्मी ७ प्रतिशत बजेट आउने गरेको गुनासो गर्दै सीमित बजेटले जनताका असिमित आवस्यकता सम्बोधन गर्न नसकिएको दावी गर्नुभएको थियो । उहाँले जनताको अपेक्षा र चाहना अनुसार सरकारले सेवा, सुविधा र अवसर दिन नसकेको कारण यो व्यवस्थाप्रतिनै जनताको विश्वास गुम्दै गएको वताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा बलियो बनाउने होभने स्थानीय सरकारलाई शक्तिशाली बनाउनुपर्ने र केन्द्र र प्रदेश सरकारलाई अझै विकेन्द्रित गर्नुपर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालयका वागवानी शाखाका निर्देशक रामबहादुर केसीले नेपालमा आठ अर्बको आलु आयात हुने गरेको जानकारी दिँदै आलुको आयात रोक्न र मुलुकलाई आलुबाट आत्मनिर्भर बनाउन आलुको पकेट क्षेत्र विस्तार गर्न जरूरी भएको वताउनु भएको थियो । निर्देशक केसीले शालिजामा आलु भण्डारण भवन निर्माण गर्नुमात्र ठूलो कुरा नभएको भन्दै यो भवनको उपयोग गरेर यहाँको आर्थिक समृद्धि माथि उकास्न यहाँका कृषकहरूलाई निरन्तर उत्प्रेरित गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले कृषिको व्यवसायीकरणको लागि स्थानीय सरकारको सहयोग आवश्यकता रहेको वताउनु भएको थियो ।

कार्यक्रममा लुम्ले कृषि अनुसन्धान निर्देशनालयका निर्देशक कालीकाप्रसाद उपाध्याय, जलजला गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष होमबहादुर फकामी, जलजलाका राजनीतिक सल्लाहकार यम शर्मा पौडेल, जलजला गाउँपालिकाका वडा नं ४ का वडा अध्यक्ष भीष्म मल्ल, कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री लगायतले बोल्नुभएको थियो ।

कृषि अनुसन्धान निर्देशनालयको आयोजनामा भएको उक्त कार्यक्रम ताजा तरकारी विउ भण्डारण समूहका अध्यक्ष एवं भवन निर्माण समितिका अध्यक्ष मीनबहादुर पूर्जा मगरको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन निर्देशनालयका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सिनाले गर्नुभएको थियो ।