सडक निर्माणका लागि संचालनमा ल्याइएको क्रसर उद्योगले गिट्टी बालुवाको व्यापार गर्दा पनि सरकारी निकाय मौन

पर्वत/दर्तावाला क्रसर उद्योगलाई नयाँ मापदण्ड देखाएर केही समयदेखि नविकरण समेत नगरेको र विभिन्न वहानामा दुख दिने गरेको सरकारी निकायले सडक निर्माणको लागि संचालनमा ल्याइएको क्रसर उद्योगले निर्माणको काम थाती राखेर खुलेआम गिट्टी बालुवाको व्यापार गर्दा भने मौन रहेको छ । पर्वत र कास्कीको सिमा नयाँपुलदेखि मालढुंगासम्मको २३ किलोमिटर सडक निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सनले विभिन्न बहाना देखाएर काम गर्नै छाडेपनि क्रसर उद्योग संचालन गरेर अवैध रुपमा ढुङ्गा गिट्टी र बालुवाको विक्री वितरण गरेको पाइएको हो । निर्माणको काम सम्पन्न हुने बेलासम्म ५० प्रतिशत पनि काम नगरेको कन्ट्रक्सनले सडकको काम छाडेर अहिले दोबिल्लामा राखिएको क्रसर चलाएर त्यसको ब्यापार गर्न तल्लिन देखिएको छ । निर्माण कम्पनीले यो सडक दुई बर्षअघिदेखि उधारेको थियो ।

पहिला कालोपत्रे भएको सडकलाई पनि डोजर लगाएर भताभुंग पारेको निर्माण कम्पनीले जतासुकै खाल्डैखाल्डा बनाएर अहिले काम गर्नै छाडेको छ । लामा कन्ट्रक्सनले सडकको काम छाडेपनि कुश्मा–८ दोबिल्लामा सडकको नाममा स्थापना गरेको क्रसर भने नियमित रुपमा चलाइरहेको छ । सडककै लागि मात्रै भनेर स्थापना गरेको क्रसरबाट विगत डेढ बर्षदेखि नियमित रुपमा अन्य आयोजनादेखि ब्यक्तिका संरचना बनाउनका लागि क्रसरबाट उत्पादन भएको बालुवा, गिट्टी, रोडा बिक्री बितरण गर्दै आएको पाइएको छ । ठुला आयोजनाले आफ्नो आयोजनालाई मात्रै लक्षित गरेर क्रसर उद्योग स्थापना गर्न पाउने भएपनि उनीहरुले बाहिर मालसामान बिक्री बितरण गर्न पाउदैनन् । लामा कन्ट्रक्सनले भने डेढ बर्षदेखि क्रसर चलाएर बालुवा, गिट्टी बिक्री गर्दै आएको छ ।

कम्पनीले कुश्मा–१ मालढुंगादेखि कुश्मा–२ अर्मादीसम्मको सडक कालोपत्रे पनि गरेको थियो तर त्यो कालोपत्रे छ महिना नपुग्दै खाल्डाखुल्डी भएर अहिले हेर्नै नहुने अवस्थामा पुगिसकेको छ । अर्मादीदेखि कुश्माको मुख्यबजारहुँदै कास्की नयाँपुलसम्मको सडक झनै सवार गर्नैनसकिने अवस्थामा पुगेको छ । लामा कन्ट्रक्सनले भिर काटेर त्यसै छाडेपछि अहिले ठुलठुला खाडल ठाउँठाउँमा बनेका छन् । यो सडक पर्वतसहित बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लालाई राष्ट्रिय सडकसँग जोड्ने मुख्य सडक हो । साविक धौलागिरी अञ्चलकै मुख्य सडकलाई यति लामो समयसम्म पनि बिजोग अवस्थामा राखेर साविक धौलागिरीबासीमाथि लामा कन्ट्रक्सनले बदमासी गरेको छ । त्यसो त यो सडककै निम्ति मध्यपहाली लोकमार्ग आयोजना कार्यालय समेत कुश्मामै स्थापना गरिएको छ । कार्यालयले समेत सडकको काम नभएर सडकको हालत बिजोग हुँदा समेत चुइक्क बोलेको छैन ।

कार्यालय प्रमुख आशिष थापा मगरले सडकको अवस्था बिजोग भएको स्वीकार गर्दै छिट्टै काम सुरु गर्ने दाबी गरे । मगरले समेत पटक–पटक जिम्मेवारीबाट उम्कन खोज्ने गरेका छन् । निर्माण कम्पनीले सडक निर्माण छाडेर क्रसरको सामान अन्यत्र बिक्री गर्दा पनि कारबाही गर्ने निकाय मुकदर्शक बस्नुले विभिन्न आशंका जन्माएको छ । सडक निर्माण कार्य वीच मै अलपत्र पारेपछि सडकमा परेका खाल्डाखुल्डीका कारण यात्रा निकै कष्टकर हुने गरेको छ । सडकले सञ्चालनमा ल्याएको क्रसर उद्योगमा यसअघि नै अन्यत्र सामान बिक्री गरेको भन्ने सुनेपछि आफुहरु त्यहाँ पुगेर छानबिनको काम थालेको स्थानीय प्रशासनको दावी छ ।