पर्वत/कांग्रेस नेता रामचन्द्र पौडेललाई विनाकारण गिरफ्तारी गरेको र देशमा अराजकता फैलाएको अधिनायकवादी ओलीतन्त्रको बिरोधमा नेपाल तरूण दल पर्वतले विहिवार साँझ सदरमुकाम कुश्मा बजारमा राँके जुलुस प्रदर्शन गरेको छ
जुलुसपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सरकारले काँग्रेसलाई जिस्काएर अधिनायकवादी ओली शासनको दिनगन्ती शुरू गरेको वताउनु भयो । उहाँले संविधान र कानूनको मर्यादा काँग्रेसलाई थाह छ तर सरकारले लोकतन्त्र विरोधी हरकत गर्छभने त्यसको जवाफ काँग्रेसले दिन्छ ।’- काँग्रेस नेता जोशीले भन्नुभयो । नेता जोशीले देशमा ओली सरकारको ज्यादती बढ्दै गएको भन्दै जुनसुकै बेला पनि कठोर आन्दोलन गर्नुपर्ने भएकोले कार्यकर्तालाई ‘हाइअलर्ट’मा बस्न निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुसालले काँग्रेसका बरिष्ठ नेतालाई गिरफ्तार गरेर सरकारले लोकतन्त्रको मर्यादा नाघेको वताउँदै सरकारको अधिनायकवादी हर्कतविरूद्ध काँग्रेसले सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको थियो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले केही दिनयता प्रहरी प्रशासन पनि जनताको सेवालाई विर्सेर नेकपाको तावेदारी गर्न थालेको दावी गर्दै प्रहरी प्रशासनको यो हर्कत लोकतन्त्रको उपाहास भएको वताउनु भयो । नेपाली काँग्रेसका युवा नेता समेत रहेका गुरूङले देशमा बढेको भष्ट्राचार र अनियमितता नियन्त्रण गर्न नसकेको सरकारले प्रहरी प्रशासनलाई ठाडो आदेश दिएर काँग्रेस नेता कार्यकर्तालाई धरपकड गर्न उद्दत रहेको भन्दै काँग्रेसका नेता कार्यकर्ताको सुरक्षाका लागि तरूण दल टाउकोमा कफन बाँधेर बसेको धारणा राख्नु भएको थियो । नेता गुरुङले पर्वतको प्रहरी प्रशासनले पनि नेकपाको आडमा काँग्रेसका नेता कार्यकर्तालाई दुख दिएको दाबी गर्दै सत्ताको आडमा काँग्रेसमाथि कसैले दुर्नियत राख्छभने तरूण दलले त्यसको सशक्त जवाफ दिने चेतावनी समेत दिनुभयो ।
नेपाल तरूण दलका जिल्ला सचिव अमृत ठकुरीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन नेपाल तरूण दल कुश्मा नगरपालिकाका अध्यक्ष सुवर्ण अर्यालले गर्नुभएको थियो । वुधबार तनहुँमा घटेको घटनाको विरोधमा आजै नेपाल विद्यार्थी संघले कुश्मा बजारमा टाएर बालेर विरोध प्रदर्शन गरेको समेत नेपाली काँग्रेसका नेता एवं जिल्ला कार्य समिति सदस्य डाक्टर चूडामणि शर्माले जानकारी दिनुभयो ।






