लक्ष्मी तिवारीको उपचारको लागि कांग्रेस नेतृ राधा कुंवरद्वारा आर्थिक सहयोग

344

पर्वत/फलेबास नगरपालिका वडा नम्बर ३ शंकरपोखरीकी लक्ष्मी जैसी तिवारीको उपचारका लागि नेपाली काँग्रेसकी महासमिति सदस्य एवम् सुचना तथा प्रचार विभागका केन्द्रीय सदस्य राधाकुमारी कुँवर क्षेत्रीले नगद सहयोग गरेकी छन् । रुखबाट लडेर गम्भिर घाइते भई पोखरामा उपचाररत लक्ष्मीको उपचारमा आर्थिक अभाब भएको छ । लक्ष्मीको उपचारका लागि थोरै भएपनि राहत होस भनेर काँग्रेस नेतृ क्षेत्रीले पाँच हजार नगद सहयोग गरेकी हुन । कमजोर आर्थिक अवस्थाकै कारण उनको उपचारमा समस्या भएको उनका आफन्त एवम् नेपाल प्रेस युनियन पर्वतका उपाध्यक्ष रोशन तिवारीले जानकारी दिए । गाउँलेको केहि आर्थिक सहयोगमा पोखरास्थित हरियोखर्क अस्पतालमा अप्रेशन गरिएको भएपनि उपचारका लागि निकै समस्या भएको उनका श्रीमान कमल जैसी तिवारीले जानकारी दिए । अप्रेशन गर्दा राख्नुपर्ने एक लाख रुपैयाँ धरौटी रकम जुटाउन नसकेपछि समेत गाउँलेले चन्दा स्वरुप ५० हजार रुपैयाँ संकलन गरी दिएका थिए । त्यहि सहयोगबाट अप्रेशन गरिएको उनले जानकारी दिए ।

उनले अस्पतालले मागेको अप्रेशनको आधा रकम तिरे पनि थप ५० हजार अस्पताललाई बुझाउन नसकेको । ‘अस्पतालले पैसा पुरा जम्मा गर्नुहोला भनेर भन्छ’ तिवारीले भने–‘आँफुसंग नभएपछि दाताहरुसंग सहयोगको अपिल गरेको छु ।’अस्पतालमा अप्रेशन, औषधी खरिद, ह्विलचियर खरिद, वाडको खर्च सबै गर्दा पाँच लाख भन्दा बढि खर्च लाग्ने जानकारी पाएको तिवारीले सुनाए । उमेरले ४५ पुगेकी लक्ष्मीको मेरुदण्डको हाड भाँचिएको छ । कम्मर भन्दा तल्लो भाग चल्दैन । रुखबाट खसेर घाईते भएकी श्रीमतीलाई लिएर पोखराको गण्डकी मेडिकल कलेजमा एक दिन भर्ना गरेपछि त्यहाँ खर्च महंगो भएकाले कमलले श्रीमतीलाई हरियोखर्क अस्पतालमा पु¥याएका हुन ।

सामान्य खेतीपाती गरेर जिविका चलाउँदै आएका कमलको परिवारलाई यो बज्रपात असह्य बनेको छिमेकी रुद्रप्रसाद तिवारीले बताए । उनले भने–‘घरमा ९८ वर्षका बुढा बाबु छन्,’ दुईजना छोराछोरी स्कुल पढ्दै छन् । श्रीमान श्रीमती दुबैले खेतीपाती र मेलापात गरेर परिवार पाल्दै आएका थिए । कस्तो समस्या आइलाग्यो ।’ उनीहरुको आम्दानीको दरिलो स्रोत नभएकाले अस्पतालमा उपचार खर्च नभएर समस्या भएको तिवारीले बताए । घरमा कमाई गर्ने कोही नहुँदा अस्पतालमा उपचाररत लक्ष्मीको थप उपचारमा आर्थिक अभाव भएको छ ।
लक्ष्मीको जीवन रक्षाका लागि देशबिदेशमा रहेका नेपालीहरुले सहयोग जुटाउन शुरु गरेका छन् । लक्ष्मी जैसी तिवारीलाई सहयोग गर्न चाहनेहरुले उनको गरिमा विकास बैँक फलेवास शाखाको खाता नम्बर ०१३०१३००८३६९०९०००००१ मा रकम जम्मा गर्न अनुरोध गरिएको छ । थप जानकारी आवसश्यक परेमा पीडितका परिवार सदस्य तथा पत्रकार रोशन तिवारी लाई मोबाइल नम्बर ९८६७६४५९६३ मा सम्पर्क गर्न सकिनेछ ।