पर्वत/नेपाली काँग्रेस खेलकुद विभागको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाको संयोजनमा मोदी गाउँपालिकाको पातिचौरमा विहिवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन पछि बोल्दै कांग्रेस नेता जोशीले रक्तदान जीवन दान भएको वताउँदै यो पूण्यको काम गरेर खेलकूद विभागले काँग्रेस पार्टीको मानवीय कर्मलाई थप प्रोत्साहित गरेको दाबी गर्नुभयो । नेता जोशीले सत्ता बाहिर भएर पनि नेपाली काँग्रेस निरन्तर जनताको बीचमा पुगेको जानकारी दिँदै सत्तामा भएकाहरू गलफत्ती गरेर बसेको बेला काँग्रेसका सबै भातृ तथा शुभेच्छुक संघ संस्थाहरू जनताको घरदैलोमा पुगेर उनीहरुको समस्यामा सहयोगी बन्न अपिल गर्नु भएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका नेता एवं जिल्ला कार्य समिति सदस्य डाक्टर चूडामणि शर्मा, नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाका सभापति रुद्रबहादुर रिमाल, नेपाली काँग्रेसका युवा नेता रामबहादुर प्रसाई र पदमपाणी शर्मा लगायतले बोल्नुभएको थियो । नेपाली काँग्रेस खेलकुद विभागका सदस्य अस्मिता गुरुङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।
त्यसैगरि काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीकै नेतृत्वमा आजै उक्त टोलीले मोदी गाउँपालिका-५ बाजुङको ओखलढुंगामा निर्माणाधिन खानेपानी ट्याङ्की र बालज्योति प्राविको स्थलगत अध्ययन तथा अनुगमन समेत गरेको नेपाली काँग्रेसका नेता डाक्टर चूडामणि शर्माले जानकारी दिनुभयो ।