जलजला गाउँपालिकाले शुरू गर्यो ‘एकघर एक पिसिआर अभियान’

189

पर्वत/जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जलजला गाउँपालिकाले समुदायस्तरमा कोरोना परीक्षण गर्न थालेको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको हो ।

गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले पालिकाभित्रका सबैलाई सो सुविधा लिन अपिल गर्नुभएको छ । अध्यक्ष मल्लले कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने बताउँदै आफूले संक्रमित हुँदा भोगेको समस्याबारे समुदायमा जानकारी गराई अभियानलाई जनताको घरदैलामै पुग्ने गरी सञ्चालन गरिने बताउनु भएको छ ।’कोरोना महामारीको उपचारमा पनि केन्द्र सरकारले उदासिनता देखाएपछि जनतालाई सरकारको अनुभूति दिन हामीले जलजलाबाट यो अभियान सञ्चालन गरेका हौँ ।’-अध्यक्ष मल्लले भन्नुभयो ।

मंगलबार बिहान १० बजे मिलनचोकबाट स्वास्थ्यकर्मीको टोलीले समुदायस्तरमा स्वाब संकलन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

हरेक घरमा एक जनाको स्बाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारमा भने सबैको संकलन गरिने भएको छ । यसअघि गाउँपालिकाका करीब पाँचसय जनाको पिसिआर परीक्षण गरिसकिएको छ ।

यसैबीच तत्काल पाँच शय्याको कोरोना अस्पताल बनाएर आवश्यकतानुसार विस्तार र होम आइसोलेशनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ । जलजला गाउँपालिकाको यो अभियानलाई सर्वत्र स्वागत र प्रशंसा गरिएको छ ।