काँग्रेस नेता खाँडद्वारा सरकारले उपलब्ध गराएको दशैँ भत्ता फिर्ता

28

काठमाडौं/ नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवं पूर्व मन्त्री बालकृष्ण खाणले संसद सचिवालयले उपलब्ध गराएको दशैँ भत्ता वापतको रकम फर्ता गरेका छन् । खाणले आइतबार संसद सचिवालयलाई पत्र पठाएर दशैँ वापत दिइएको भत्ता जनहितमा लगाउने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

हालको विषम परिस्थितिमा आम नेपालीले अभाव, पीडा र कठिनाइ भागिरहेको अवस्थामा जनप्रतिनिधिलाई दशैँ भत्ता वितरण गर्ने सरकारको निर्णय असान्दर्भिक र जनहित विपरित भएको भन्दै नेपाली काँग्रेसका प्रभावशाली नेता खाँडले उक्त रकम फिर्ता गर्ने निर्णय गरेका हुन् । ‘मलाई प्राप्त भएको दशैँ भत्ता वापतको रकम संसद सचिवालयमार्फत जनहितमा उपयोग गर्न सरकारलाई फिर्ता गर्ने व्यहोरा जानकारी गराउँदछु’, खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘सो रकम सरकारी कोषमा जम्मा हुने व्यवस्था मिलाउन आग्रह गर्दछु’, खाणद्वारा आइतबार संसद सचिवालयलाई पठाइएको पत्रमा उल्लेख छ ।

कोरोना महामारीका बेला सरकारले प्रतिनिधि सभाका सांसद र उनीहरूका स्वकीय सचिवहरूलाई दशैँ भत्ता दिएपछि विरोध भएको थियो । नेता खाँडले कोरोना नियन्त्रणमा सरकार असफल भएको टिप्पणी समेत गरेका छन् ।