पर्वत/लामो समयदेखि विना अनुमति जलजला गाउँपालिका -७ मिलनचोकमा संचालन हुँदै आएको वागेश्वरी एग्रीगेट एण्ड व्लक उद्योगलाई जलजला गाउँपालिकाले यही असोज ४ गतेदेखि पूर्ण रूपमा बन्द गर्न आइतबार सूचना टाँस गरेको छ । उद्योग व्यवसाय दर्ता र नियमन सम्बन्धी प्रचलित संघीय, प्रादेशिक र स्थानीय नीति नियम, अदालत र अख्यितारको निर्देशन, सरोकारवालाको सुझाव, माग, दबाब र कार्यपालिकाको निर्णय अनुसार उद्योग बन्द गर्नुपरेको गाउँपालिकाले जानकारी दिएको छ ।
संचालकहरुले ब्लक उद्योगको मात्रै अनुमति लिएर क्रसर उद्योग संचालन गरेकोले उनीहरुलाई क्रसर उद्योगका लागि आवस्यक कानूनी प्रक्रिया पूरा गर्न पटकपटक दिएको निर्देशन पालना नभएपछि गाउँपालिकाले बाध्य भएर उद्योग बन्द गर्नुपरेको अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो । ‘गाउँपालिकाले कानूनी प्रक्रिया पुर्याएर संचालन गर्न प्रयाप्त मौका दिँदासमेत अटेर गरि उद्योग संचालन गरेपछि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को (ञ)६ को अधिकार प्रयोग गरी उद्योग बन्द गरिएको हो ।’- अध्यक्ष मल्लले भन्नुभयो । अवैध रूपमा सञ्चालित क्रसर बन्द गराउन जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र प्रहरीलाई पत्राचार गरेपनि कुनै सहयोग नपाएको गाउँपालिकाको गुनासो छ । ‘कसैले अवैध काम गर्ने अनि गाउँपालिकाले अदालत र अख्तियारमा तारेख बोक्ने कि जनताको काम गर्ने?’ – अध्यक्ष मल्लले गुनासो गर्नुभयो ।
वागवीर घर्ती र शिवबहादुर घर्ती क्षेत्रीका नाममा सञ्चालित उक्त उद्योग अवैध रहेको भन्दै उद्योग बन्द गर्न स्थानीय सरोकारवालाहरुले गाउँपालिकामा पटकपटक लिखित उजुरी दिएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा दर्ता भएको गाउँपालिकाले दाबी गरेको छ ।