सरकारको असक्षमताले स्थानीय तहका प्रतिनिधिलाई समेत काम गर्न बाधा-सभापति देउवा

15

पर्वत/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय सरकारको असक्षमता र गैरजिम्मेवारीपनका कारण कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा उभिएर लड्नु पर्ने स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको आकांक्षा पूरा गर्ने चुनौतिको सामना गर्न कठिनाई भइरहेको बताएका छन्।

नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागका प्रमुख एवं केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको संयोजनमा प्रदेश स्तरिय स्थानीय जनप्रतिनिधिहरुसँगको भर्चुअल बैठक अन्तर्गत मंगलबार सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिहरुको बैठकलाई सम्बोधन गर्ने क्रममा देउवाले यस्तो विचार व्यक्त गरेका हुन्।

स्थानीय तहका जनप्रतिनिधिहरु जनताको सबैभन्दा नजिकको सरकार भएको बताउँदै सभापति देउवाले त्यस तहमा कार्यरत जनप्रतिनिधिहरुबाट जनताले आफ्ना सबै किसिमका समस्याहरुको समाधानको अपेक्षा गर्नु स्वाभाविक भएको बताएका थिए।

यसका बाबजूद हाल देखिएको कोरोना भाइरस महामारीविरुद्ध नेपाल सरकारले समयमै गम्भीरताका साथ सजकता अपनाएर प्रभावकारी रणनीति अख्तियार गर्न नसक्दा देशको अवस्था जटिल बन्दै गएको भन्दै देउवाले चिन्ता व्यक्त गरे।

‘केन्द्र सरकारलले समयमै स्वास्थ्य सामाग्री आपूर्ति, संक्रमितको पहिचान, परिक्षण तथा उपचारसँगै क्वारेन्टाइन, आइसोलेशन र अस्पतालको समुचित व्यवस्थापनसँगै विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्न र गरिव जनतालाई राहत वितरण गर्न सकेन,’ देउवाले भने।

स्थानीय तहले केन्द्र र प्रदेश सरकारबाट आवश्यकता अनुसार स्रोत साधन, बजेट र जनशक्ति प्राप्त गर्न नसक्दा तल्लो तहका जनप्रतिनिधिहरुले अत्यन्त प्रतिकूल परिस्थितिमा काम गर्न परिरहेको अवस्थाबारे आफू जानकार रहेको पनि देउवाले बताए।

यसका बाबजूद पनि देउवाले आफ्नो पार्टीबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुले जनताको माझमा रहेर गर्ने काम र व्यवहारले जनतामाझ पार्टीको छवि उजिल्याउन मद्दत गर्ने बताउँदै देउवाले सबै जनप्रतिनिधिलाई जनतामाझ उदाहरणीय बन्नु पनि सुझाव दिए।

साथै उनले अहिलेको राजनीतिक परिवर्तन, नयाँ संविधानमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउनेदेखि संविधानको कार्यान्वयन पनि कांग्रेसकै नेतृत्वमा भएको स्मरण गर्दै देउवाले यो परिवर्तन र व्यवस्थालाई सफल बनाउने दायित्व पनि कांग्रेसकै भएको बताएका थिए । यसका लागि उनले सबै तहका नेता तथा कार्यकर्तादेखि आम जनता सजग भएर क्रियाशिल रहन पनि आग्रह गरे।