प्रहरी र प्रशासनबाट असहयोग भएको भन्दै जलजला गाउँपालिकाद्वारा नगर प्रहरी भर्ना प्रक्रिया शुरू

104

पर्वत/प्रहरी र प्रशासनबाट असहयोग भएको भन्दै जलजला गाउँपालिकाले आफ्नै नगर प्रहरी भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले प्रहरी भर्नाका लागि आवस्यक नियमावली समेत बनाएर तत्कालकालागि प्रहरी नायव निरीक्षकको कमान्डमा एक प्रहरी हवल्दार र एक जवानको लागि मंगलबार विज्ञापन आवेदन गरेको हो ।

गाउँपालिकामा शान्ति सुरक्षा, प्राकृतिक स्रोत साधनको संरक्षण तथा उपयोगको लागि प्रहरीको आवश्यकता देखिएकोले नगर प्रहरी नियुक्तिको लागि आवेदन गरेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो । ‘गाउँपालिकाको काममा जिल्लाको प्रहरी र प्रशासनबाट असहयोग भयो’ गाउँपालिका भित्रको प्राकृतिक र सरकारी सम्पत्तिको उपयोग र संरक्षणका लागि पनि आफ्नै सुरक्षा संयन्त्र आवश्यक भएकोले नगर प्रहरी नियुक्त गर्न बाध्य भयौं ।- अध्यक्ष मल्लले भन्नुभयो ।

व्लक उद्योगका नाममा अवैध क्रसर उद्योग संचालन गर्नेलाई कारवाहीको माग गर्दै गाउँपालिकाले किटानी जाहेरी दिँदासमेत प्रहरीले जाहेरी नलिने अवस्था भएपछि बाध्य भएर प्रहरी भर्ना गर्न लागिएको मल्लले वताउनु भयो । जलजला गाउँपालिकाले यसअघिनै अवैध उद्योग संचालन गर्नेलाई कार्वाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, प्रहरी प्रधान कार्यालयदेखि गण्डकी प्रदेशका मुख्यमन्त्रीसम्मलाई पत्राचार गरेको थियो । स्थानीय प्रहरी प्रशासनले गाउँपालिकालाई सहयोग गरेन, त्यसैले संविधानमा भएको व्यवस्थाअनुसार नै नगर प्रहरी गठनको प्रक्रिया अघि बढाउन बाध्य भयौं ।’ -अध्यक्ष मल्लले भन्नुभयो ।

गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रको सार्वजनिक जग्गाको लगत संकलन गर्ने र त्यो सार्वजनिक जग्गा उपयोग गरेवापत निश्चित कर लिएर गाउँपालिकाको आर्थिक पक्षलाई बलियो बनाउने रणनीति समेत अघि सारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । ‘नदीजन्य पदार्थको विक्री वितरणबाट समेत गतबर्षको भन्दा दोब्बर राजश्व वृद्धि गरि गाउँपालिकाको आन्तरिक आयलाई आगामी बर्ष पाँचकरोड रूपैयाँ पुर्याउने लक्ष्य राखेका छौं ।’- शर्माले भन्नुभयो ।

प्राकृतिक श्रोत साधन र नदीजन्य पदार्थको विक्री वितरण सम्बन्धि कार्यविधिलाई लिएर जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जलजला गाउँपालिकाको बीचमा लामो समयदेखि मतभेद देखिदै आएको छ । गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर प्रहरी प्रशासनले अनावश्यक हस्तक्षेप गरेको तथा समन्वय बिना काम गरेको आरोप लगाउँदै आएको छ ।